लुटपाटमा संलग्न आयन माझी समूहका तीन जना पक्राउ

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, सुनका गरगहना लुटपाट तथा डाँकाचोरीमा संलग्न रहेको आरोपमा प्रहरीले आयन माझी समूहका तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिसहित लुटपाटका घटनाबारे जानकारी दिएको हो । समूहका नाइके सिन्धुलीको मरिण गाउँपालिका–५ का २६ वर्षीय आयन माझी रहेका प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा मकवानपुरको बकैया गाउँपालिकाका ३४ वर्षीय राकेश थिङ र ३६ वर्षीय मनोजकुमार मोक्तान रहेका छन् ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार उक्त समूहले विभिन्न मिति र समयमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा योजनाबद्ध रूपमा मोटरसाइकल चोरी गर्ने, हातहतियार देखाएर सुनका सिक्री तथा गरगहना लुट्ने र डाँकाचोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । हालसम्म उक्त समूहले १५ वटा मोटरसाइकल चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले असोज २१ गते काठमाडौँ महानगरपालिका-३२ जडीबुटी पुलमुनिको सडकखण्डबाट मोटरसाइकलसहित आयन माझीलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ गर्ने क्रममा उनले प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार गर्ने प्रयास गरी भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर र घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

माझीलाई पक्राउ गरेपछि निजको समूहका अन्य सदस्यको खोजी गर्ने क्रममा भक्तपुरको ठिमी नगरपालिका-४ बाट राकेश थिङ र मनोजकुमार मोक्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा मनोजले मोटरसाइकल चलाउने र राकेश पछाडि बसेर पैदल यात्रुको सुनको सिक्री लुट्ने गरेको तथा उनीहरूलाई आयन माझीले निर्देशन दिने गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त समूहले २०८२ भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा उपत्यकाका विभिन्न स्थानमा रहेका विभिन्न बैंकका एटिएम बुथ पनि लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी, यही असोज १४ गते राति तरकारी किन्न जाँदै गरेका महेन्द्रकुमार बललाई बौद्ध गेट नम्बर २ नजिकै अपरिचित चार-पाँच जनाको समूहले नियन्त्रणमा लिई नगद रु दुई लाख तथा विभिन्न कागजात लुटेर फरार भएको घटनामा सो समूहको संलग्नता रहेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

यही असोज १३ गते काठमाडौँ महानगरपालिका-१५ डल्लु चौतारास्थित सडकखण्डमा रमेश खड्कीले चलाएको बागमती प्रदेश ०१-०२९ च ९०६० नम्बरको बिवाइडी कारमा रहेका बेला तीन जना अपरिचित पुरुष २२० सिसी पल्सर मोटरसाइकलमा आई खड्कीको घाँटीमा रहेको करिब साढे तीन तोलाको सुनको सिक्री लुटेर डल्लु झोलुङ्गे पुलतर्फ फरार भएको घटनामा पनि समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । उक्त सिक्रीको अनुमानित मूल्य रु १० लाख ५० हजार रहेको छ ।

प्रहरीले पक्राउ परेकाहरूबाट लुटपाटमा प्रयोग गरिएका दुई थान मोटरसाइकल, नम्बर प्लेट बनाउन प्रयोग गरिएका पाँच थान प्लेट, एक थान खुकुरी तथा घटनाका बेला प्रयोग गरिएका कपडालगायतका सामग्री बरामद गरेको छ ।

प्रहरीका अनुसार समूहले बिहान अँध्यारो समयमा सर्वसाधारणसँग ठेगाना सोध्ने बहाना बनाई सुनको सिक्री लुट्ने र मोटरसाइकलमा फरार हुने गरेको थियो । फरार हुने क्रममा उनीहरूले तीन वटाभन्दा बढी सवारीसाधन परिवर्तन गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी, इन्ड्राइभ तथा पठाओको बहाना बनाई राति वा बिहान अँध्यारो समयमा एक्लै मर्निङवाकमा हिँड्ने तथा तरकारी किन्न जाने महिला र पुरुषलाई सुनसान स्थानमा पुर्‍याएर लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।

आवश्यक परेको अवस्थामा प्रयोग गर्न विभिन्न किसिमका हातहतियार बोकेर हिँड्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार