नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असोज।

प्रधानमन्त्री वालेन्द्र शाहले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच बिहान गएको पहिरोका कारण बूढीगण्डकीमा लेदोसहितको बाढी आएको र त्यसबाट तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिनुभएको छ । बाढीमा परी पाँच जना बेपत्ता भएको र उनीहरूको खोजी तीव्र पारिएको उहाँले बताउनुभएको छ ।
उहाँका अनुसार बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत्का खम्बा, निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण तथा आसपासका घरमा क्षति पुर्याएको छ ।
बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली खटिएर नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बिहान ६ः०० बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) का २२१ जना प्रतिकार्यकर्तालाई परिचालनका लागि एसएमएस पठाइएको जानकारी दिनुभएको छ ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र बाढी पूर्वानुमान महाशाखाबाट गोरखा, धादिङ तथा चितवनको बेनीघाटसम्मका बासिन्दालाई दुई पटक गरी करिब दुई लाख एसएमएसमार्फत पूर्वसूचना पठाइएको उहाँले उल्लेख गर्नुभएको छ ।
बाढी प्रभावित गोरखाको सल्लेरीस्थित निर्माणाधीन जलविद्युत् आयोजनाका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बल, नेपालका १७७ गरी ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाका चार वटा हेलिकप्टरसमेत उद्धार कार्यमा खटाइएको उहाँले जानकारी दिनुभएको छ ।
बाढीको कारण पत्ता लगाउन भूगर्भविद्सहितको तीन सदस्यीय टोली ड्रोनसहित परिचालन गरिएको छ भने नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा ५० जनाको टोलीलाई आवश्यकताअनुसार परिचालन गर्न तयारी अवस्थामा राखिएको छ ।
प्राधिकरणको विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक निरन्तर बसिरहेको र बाढीको अवस्था अनुगमन, विश्लेषण, सूचना सम्प्रेषण तथा उद्धार र राहत कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ ।
प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ । सडक सञ्चालन र बेलिब्रिज जडानको सम्भाव्यता अध्ययनका लागि सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली परिचालन गरिएको छ । आरुघाटमा बेलिब्रिज जडानको तयारीसमेत थालिएको उहाँले उल्लेख गर्नुभएको छ ।
गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ । प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सम्बन्धित मन्त्रालय र कम्पनीलाई निर्देशन दिइएको छ ।
सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन, आवश्यक राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक पूर्वाधार पुनःसञ्चालन गर्न आवश्यक कदम अघि बढाएको प्रधानमन्त्री शाहले बताउनुभएको छ ।

