नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ कार्तिक।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा शुक्रबार मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच आपसी शैक्षिक सहकार्य र खेल कूटनीतिबारे छलफल भएको हो ।
उक्त भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे विस्तृत छलफल भएको थियो । मुख्य गरी शिक्षा क्षेत्रमा दुई देशबीचको लामो समयदेखिको सहकार्यलाई आगामी दिनमा थप प्रगाढ र प्रभावकारी बनाउने विषयमा कुराकानी केन्द्रित रह्यो ।
कार्यवाहक राजदूत बोल्डिनले हालसालै भएको भोटेकोशी बाढी र त्यसले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिका नेपालको कठिन परिस्थितिमा सधैँ साथमै रहेको कुरामा जोड दिनुभयो । उहाँले नेपालको विकासका लागि अमेरिकी सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री पोखरेलले अमेरिकाले नेपालको समग्र विकास, विशेष गरी शिक्षा क्षेत्रमा पुर्याउँदै आएको लामो समयदेखिको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउन सकिने कुरामा जोड दिनुभयो । उहाँले शिक्षा क्षेत्रमा अमेरिकी सहयोगले नेपालको मानव संशाधन विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
भेटमा अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा विगतमा विभिन्न किसिमका कार्यक्रममार्फत सहयोग पुर्याउँदै आएको उल्लेख गरिएको थियो । ‘नेशनल अर्ली ग्रेड रिडिङ प्रोग्राम’ र ‘नेशनल अर्ली ग्रेड लर्निङ प्रोग्राम’जस्ता कार्यक्रममा अमेरिकी सहयोग रहेको विषय उल्लेख गर्दै मन्त्री पोखरेलले यी कार्यक्रमले नेपालको आधारभूत शिक्षा सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
मन्त्री पोखरेलले आगामी दिनमा विद्यार्थी र विश्वविद्यालयका ‘फ्याकल्टी मेम्बर’ तथा प्रोफेसरहरूको एक्सचेन्ज प्रोग्राम कार्यक्रममा विशेष जोड दिनुपर्ने विषय उठाउनुभयो ।
उहाँले यस्ता कार्यक्रमले दुई देशबीचको शैक्षिक सहकार्यलाई थप मजबुत बनाउने बताउनुभयो । अमेरिकी सरकारको सहयोगमा हाल सञ्चालित फुलब्राइट छात्रवृत्ति कार्यक्रम लगायतका विभिन्न कार्यक्रम निरन्तर रहेको र यस्ता सहकार्यले नेपालको जनशक्ति विकासमा योगदान पुर्याउने कुरामा छलफल भएको थियो ।
भेटमा खेलकुद कूटनीतिको विषयमा समेत छलफल भएको थियो । सन् २०२८ मा लस एन्जल्समा हुने ओलम्पिक तथा पाराओलम्पिक खेललाई लक्षित गर्दै अमेरिकी विशेषज्ञता तालिम, खेलाडी विकास र खेल व्यवस्थापनमा नेपाली खेलाडी तथा प्रशिक्षकलाई कसरी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।
कार्यवाहक राजदूत बोल्डिनले खेलकुद क्षेत्रमा अमेरिकी अनुभव र सीप नेपाललाई उपयोगी हुनसक्ने बताउनुभयो भने मन्त्री पोखरेलले यस क्षेत्रमा सहकार्य बढाउन सकिने सम्भावनामा जोड दिनुभयो ।
भेटका क्रममा दुवै पक्षले आआफ्नो तर्फबाट शिक्षा क्षेत्रको ऐतिहासिक सहकार्यलाई थप सुदृढ बनाउँदै अगाडि बढ्ने र विद्यार्थी तथा शिक्षकबीच एक्सचेन्ज प्रोग्राम लगायतका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।(रासस)

