पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत

गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार गाउँदेखि खोप्रा (खोपारा) जोड्ने पदमार्ग सञ्चालनमा ल्याइएको छ ।

पाउद्वारका बासिन्दाले श्रमदान गरेर पाउद्वार–खोप्रा–खयर पदमार्गको पाउद्वार–हिलडाँडा– लरेनी खण्डको मर्मत गरी सञ्चालनमा ल्याएका हुन् । पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनले पदमार्ग मर्मत गरी सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

“श्रमदान गरेर पहिरो पन्छाउने र नयाँ मार्ग बनाएर पदमार्ग सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “दुई सय घरपरिवार रहेको पाउद्वारका बासिन्दा पहिरोले क्षति पुर्याएको पदमार्ग, विद्युत् र खानेपानी योजना मर्मतका लागि एक महिनादेखि श्रमदान अभियानमा छौँ ।”

पाउद्वारका बासिन्दा प्रभा तिलिजा पुनले दैनिक ५० जनाका दरले पाँच दिनसम्म श्रमदान गरेर पदमार्ग खुलाइएको बताउनुभयो । पाउद्वार–खोप्रा पदमार्ग सञ्चालन भएपछि पर्यटकका साथै स्थानीयवासीलाई घाँसदाउरा र गोठ जान आउन सहज भएको बताउनुभयो ।

अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको तीन हजार ५६० मिटर उचाइमा अवस्थित खोप्रा नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । बस्तीदेखि टाढा र एकान्त वातावरणमा रहेको खोप्रा सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल र पशुगोठको अवलोकनका लागि उपयुक्त छ ।

अर्नब चक्रवातका कारण पछिल्लो एक÷दुई दिनयता पर्यटक आगमन प्रभावित भए पनि खोप्रामा पर्यटक आगमन पुरानै लयमा फर्किएका खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजा पुनले बताउनुभयो । खोप्रामा पाउद्वार पर्यटन सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गरेको छ ।

घोडेपानी, कास्कीको घान्द्रुक, बयली, ढाडखर्क, नारच्याङ लेकगाउँ हुँदै खोप्रा लेक पुग्ने पर्यटकहरु समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरतालको भ्रमण गरी लरेनी पाउद्वार हुँदै अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा जाने गर्दछन् ।

पहिरोले सडक अवरुद्ध बनाएको र गाउँ वरपर घेरिए पनि खोप्रालगायत पर्यटकीय स्थलहरु सुरक्षित भएकाले सहज रुपमा भ्रमण गर्न सकिने हिलडाँडाका होटल व्यवसायी जसे पुनले बताउनुभयो । असोज–कात्तिक र चैत–वैशाख खोप्रा–खयर पदमार्गको मुख्य याम हो । (रासस)

सम्बन्धित समाचार