नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कार्तिक।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी तथा तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
राति कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोे छ । त्यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।(रासस)
