नवकान्तिपुर संवाददाता
दमौली (तनहुँ), २५ कात्तिक l

तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिर पछिल्लो समय धार्मिक आस्थाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ । अग्लो डाँडाको थुम्कोमा अवस्थित यस मन्दिरमा पूजा, आराधना र भाकल गर्न तनहुँसहित देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् । विशेषगरी वर्षका निश्चित महिनाका मङ्गलबार यहाँ लाग्ने भक्तजनको भीड, फूलको डोली र पञ्चैबाजाको गुञ्जनले बसन्तपुर क्षेत्रलाई धार्मिक उत्सवमय बनाउने गरेको छ ।
थानीमाई मन्दिरमा भक्तजनको आकर्षण कति छ भन्ने पछिल्लो कात्तिक महिनाको तथ्याङ्कले पनि देखाउँछ । कात्तिकका दुई मङ्गलबारमा मात्रै यहाँ ९३ वटा फूलको डोली भित्रिएका छन् । तीमध्ये कात्तिकको तेस्रो मङ्गलबार ९१ र चौथो मङ्गलबार दुईवटा फूलको डोली चढाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिनुभयो । उक्त अवधिमा दश हजारभन्दा बढी भक्तजनले मन्दिरमा पुगेर पूजाआजा गरेका थिए ।
कात्तिकको पहिलो मङ्गलबार महानवमी परेकाले फूलको डोली नआएको र दोस्रो मङ्गलबार पनि डोली चढाउने क्रम नभएको अध्यक्ष थापाले बताउनुभयो । त्यसपछि तेस्रो मङ्गलबार एकै दिन ९१ वटा डोली भित्रिएपछि मन्दिरमा भक्तजनको उल्लेख्य चहलपहल देखिएको थियो । चौथो मङ्गलबार भने तिहारका कारण दुई वटामात्रै डोली आएको उहाँले बताउनुभयो ।
थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा यहाँको धार्मिक संस्कृतिको विशिष्ट पक्ष हो । प्रत्येक वर्ष वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाका मङ्गलबार यहाँ विशेष रूपमा फूलको डोली चढाउने गरिन्छ । ती महिनाका मङ्गलबार देशका विभिन्न स्थानबाट भक्तजन आफ्नो मनोकामना लिएर मन्दिर पुग्ने गर्छन् ।
थापाका अनुसार थानीमाई मन्दिरमा फूलको डोली चढाउँदा मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण वर्षौंदेखि भक्तजन यहाँ आउने र भाकल पूरा भएपछि पुनः फूलको डोली चढाउन आउने परम्परा छ । यहाँ डोली चढाउने प्रक्रिया पनि आफ्नै मौलिक धार्मिक विधिअनुसार सम्पन्न गरिन्छ । भक्तजनले मन्दिरमा फूलको डोली चढाउनुभन्दा अघिल्लो दिन अर्थात् सोमबार सत्यनारायणको पूजा गरी डोली तयार पार्ने गर्छन् । भाकलअनुसार फूल, तोरण र अन्य सामग्रीसहित तयार गरिएको डोली लिएर मङ्गलबार बिहानैदेखि भक्तजन मन्दिर पुग्ने गर्छन् ।
पञ्चैबाजाको तालमा मन्दिर परिक्रमा
थानीमाई मन्दिरमा फूलको डोली चढाउने दिनको दृश्य आफैँमा आकर्षक हुन्छ । भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित नाचगान गर्दै मन्दिरको तीनपटक परिक्रमा गर्छन् । परिक्रमा गर्दा बज्ने पञ्चैबाजा, भक्तजनको नाचगान र थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जायमान बन्ने गर्छ ।
मन्दिरको परिक्रमा गरेपछि माथिल्लो थुम्कामा रहेको मन्दिर परिसरका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि भक्तजन मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना पूरा भएको भन्दै थानीमाईको पूजा तथा आराधना गर्छन् ।
ध्वजापताका, फूलका माला र पञ्चैबाजासहित मन्दिर पुग्ने भक्तजनका कारण मङ्गलबार बसन्तपुरको वातावरण उत्सवमय बन्ने गरेको छ । टाढाटाढाबाट आउने भक्तजनका लागि यो केवल पूजाआजा गर्ने अवसर मात्र नभई वर्षौंदेखि चल्दै आएको धार्मिक परम्परासँग जोडिने माध्यमसमेत बनेको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा नियमित पूजाआजा हुँदै आएको छ । तर फूलको डोली चढाउने विशेष महिनाका मङ्गलबार भने यहाँ भक्तजनको चाप बढी हुने गरेको छ ।
धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यको आकर्षण
समुद्री सतहबाट करिब एक हजार दुई सय मिटर उचाइमा अवस्थित थानीमाई मन्दिर धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक सौन्दर्यका हिसाबले पनि आकर्षक गन्तव्य हो । मन्दिर परिसरबाट गोरखाको लक्ष्मी बजार, लिगलिगकोट, पालुङटार, लमजुङको राइनासकोटलगायत आसपासका भूभागको दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेका बेला टाढाटाढासम्म फैलिएका हिमशृङ्गलाको दृश्यले यहाँ पुग्ने पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ ।
धार्मिक दर्शनसँगै प्रकृतिको आनन्द लिन चाहनेका लागि पनि यो स्थान उपयुक्त गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ । मन्दिरको अग्लो स्थान, वरपरको प्राकृतिक वातावरण र विभिन्न भूभागको दृश्यले यहाँ पुग्ने जोकोहीलाई केही समय प्रकृतिसँग रमाउने अवसर प्रदान गर्छ ।
पछिल्लो समय धार्मिक स्थललाई पर्यटनसँग जोड्ने प्रयास भइरहेका बेला थानीमाई मन्दिरलाई पनि धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । विशेषगरी फूलको डोली चढाउने दिन यहाँ हुने भक्तजनको उपस्थिति र सांस्कृतिक गतिविधिले स्थानीय क्षेत्रको पहिचान विस्तार गर्न सहयोग पु¥याएको छ ।
इतिहास र किंवदन्तीसँग जोडिएको मन्दिर
थानीमाई मन्दिरको इतिहास स्थानीय जनविश्वास र किंवदन्तीसँग जोडिएको छ । स्थानीयवासीका अनुसार १८२५ सालदेखि यस स्थानमा पूजाआजा सुरु भएको मानिन्छ । किंवदन्तीअनुसार १८२५ सालतिर मन्दिर रहेको स्थानमा एक भोटीनी आमा र उनकी छोरी पुगेका थिए । त्यतिबेला ठूलो हावाहुरी चलेपछि उनीहरू एउटा रुखमुनि ओत लागेका थिए । सोही क्रममा आमा र छोरी त्यहीँबाट अन्तध्र्यान भएको भन्ने जनश्रुति रहिआएको छ । त्यस घटनापछि उक्त स्थानलाई धार्मिक शक्तिसँग जोडेर पूजा गर्न थालिएको स्थानीयवासीको भनाइ छ ।
त् यही समयदेखि थानीमाईको पूजा आराधना सुरु भएको र क्रमशः यो स्थान धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित हुँदै गएको स्थानीयको विश्वास छ । पुस्तौँदेखि सुनिँदै आएको उक्त किंवदन्तीले मन्दिरको धार्मिक महत्त्वलाई थप विशेष बनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट थानीमाई मन्दिरमा समेत क्षति पुगेको थियो । भूकम्पले क्षति पु¥याएपछि मन्दिरको पुनर्निर्माण गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरमा चढाइएको भेटीबाट सङ्कलित रु छ लाखको लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो ।
(रासस)
