नवकान्तिपुर संवाददाता
ललितपुर, २६ कार्तिक।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सभापति थापाले बिहीबार शोक बक्तव्यमार्फत काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा १४ जनाको मृत्यु भएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताउनुभएको छ ।
उहाँले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ । सभापति थापाले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परिवारजनलाई उक्त असह्य पीडा सहनसक्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको छ ।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत बिहीबार बिहान चिसापानी गढीमा माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । (रासस)

