नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर।

प्रधानमन्त्री वालेन्द्र शाहको आगामी आइतबारदेखि हुने दुई दिवसीय भारतको राजकीय भ्रमणका क्रममा द्विपक्षीय व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रले प्राथमिकता पाउने भएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त मन्त्रालयका सचिव अमृतबहादुर राईले आपसी सहयोग र सहकार्यसहित विकास निर्माण एवं आर्थिक गतिविधिका विषयलाई प्राथमिकता दिइने बताउनुभयो ।
परराष्ट्र सचिव राईका अनुसार औपचारिक भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता सहकार्यका विविध क्षेत्रसँग सम्बन्धित समझदारीपत्रहरू (एमओयु) समेत आदानप्रदान गरिने सचिव राईले जानकारी दिनुभयो । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने विश्वास गरिएको छ ।
नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल–भारत ‘बिजनेस फोरम’को पनि आयोजना गरिनेछ । उक्त फोरममा भारतीय व्यवसायीका चासो तथा सरोकार सम्बोधनको प्रयास हुनेछ । साथै उनीहरूलाई नेपालमा लगानीका लागि अनुरोध गरिने छ । यसैगरी, भारतीय लगानी थप आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिने सो कार्यक्रम नेपाली र भारतीय व्यवसायीबीच सहकार्यको ‘सेतु’ बन्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको राजकीय भ्रमणप्रति उत्साहित बनेको नेपालको निजी क्षेत्रको पनि प्रतिनिधित्व हुने भएको छ । आफ्नै खर्चमा निजी क्षेत्रका उद्यमी–व्यवसायी सम्मिलित ५२ सदस्यीय टोली प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी हुने छ ।
“नेपाल–भारतबीच सदिऔँदेखिको मित्रवत् सम्बन्धलाई अझ सुदृढ गर्दै सहकार्य र सहयोगात्मक साझेदारीको भावनाअनुरूप दुवै देशका प्रधानमन्त्रीबीच पारस्परिक हित र चासोका समग्र विषयमा छलफल हुनेछ”, सचिव राईले भन्नुभयो ।
प्रधानमन्त्री शाहले मङ्सिर ७ गते सोमबार भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । यसैगरी, सोही दिन प्रधानमन्त्री शाहले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आइतबार प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री शाहले नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ अधिकारी, व्यवसायी र पत्रकारलगायत ३४ सदस्यीय टोली रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाहको यो भ्रमणलाई मुलुकको राजनीतिक, कूटनीतिक एवं बौद्धिक क्षेत्रले महत्वका साथ हेरेको छ ।(रासस)

