गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

चितवन जिल्लास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने भएको छ ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले शनिबार रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

निरीक्षणका क्रममा उहाँले फ्लडलाइट जडान, दर्शक सिट तथा फर्निसिङका लागि लागत अनुमान तयार गरी प्रक्रिया अघि बढाउन भवन विभागसँग समन्वय गर्न निर्देशन दिनुभयो ।

रङ्गशालाको बाँकी कामका लागि सानो विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको जनाउँदै उहाँले आवश्यक प्रक्रिया पूरा गरी दुई–तीन महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्ने बताउनुभयो । त्यसपछि तत्काल टेन्डर प्रक्रिया अघि बढाउन सकिने उहाँको भनाइ थियो ।

रङ्गशालामा ‘फ्लडलाइट’ जडानलाई प्राथमिकतामा राखिएको जनाउँदै मन्त्री लम्सालले आगामी एनपिएलका खेलसमेत यहाँ सञ्चालन गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।

चौथो संस्करण ‘होम–अवे फम्र्याट’ मा सञ्चालन गर्ने वा पोखरा र चितवनलगायत मैदान प्रयोग गर्ने विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले निर्णय गरे गौतमबुद्ध रङ्गशालामा पनि खेल सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।



गौतमबुद्ध रङ्गशालामा एनपिएलको चौथो संस्करणमै खेल सञ्चालन गर्न सकिनेमा मन्त्री लम्साल आशावादी देखिनुभयो । आगामी एनपिएलमा गौतमबुद्ध रङ्गशालामा खेल हुने वा नहुने विषय क्यानको निर्णयमा निर्भर रहने मन्त्री लम्सालले स्पष्ट पार्नुभयो ।

प्रतियोगिताका खेल विभिन्न मैदानमा विकेन्द्रित गरी तीन–चार वटा मैदान प्रयोग गर्ने निर्णय भए चितवनमा पनि खेल सञ्चालन हुनसक्ने उहाँको भनाइ थियो ।

रङ्गशालाको बाँकी निर्माण तथा व्यवस्थापनका काम अघि बढाउने, फ्लडलाइट जडानका लागि लागत अनुमान तयार गर्ने र आवश्यक प्रक्रिया पूरा गरी टेन्डरमा जाने विषय निरीक्षणका क्रममा प्राथमिकतामा परेको छ ।(रासस)

सम्बन्धित समाचार