‘जनादेश प्राप्त सरकार असफल हुने छुट छैन’

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ ।

गृहनगर झापाको मेचीनगर नगरपालिका–९ मा नवनिर्मित खानेपानी परियोजनाको आइतबार उद्घाटन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

“नागरिकमा धेरै निराशा फैलिएको छ”, उपसभापति शर्माले भन्नुभयो, “आवेग, आक्रोश र निराशाले देशलाई दुःखद् अवस्थामा पु¥यायो । जनादेश प्राप्त प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वमा रहेको सरकार सफल बन्नुपर्छ ।”

नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै वरिष्ठ उपसभापति शर्माले जनादेश पाएको सरकारलाई सबै दलले सघाउनुपर्ने बताउनुभयो ।

जेनजी विद्रोह हुनुमा तत्कालीन सरकारले गरेको अत्यधिक बल प्रयोग पनि एउटा कारण रहेको उहाँको विश्लेषण छ । साथै, पुराना दलहरूले सुशासन कायम गर्न नसक्दा र नेतृत्वमा नयाँ अनुहार ल्याउन नसक्दा विद्रोहले मलजल पाएको वरिष्ठ उपसभापति शर्माले दाबी गर्नुभयो ।

पाँचै निर्वाचन क्षेत्रमा कार्यकर्तासँग भेटघाट

वरिष्ठ उपसभापति शर्माले गृह जिल्लाका नेता तथा कार्यकर्तासँग तीन दिन अलगअलग कार्यक्रममा भेटघाट र छलफल गर्नुहुने भएको छ ।

उहाँले आइतबार दिउँसो कचनकबल गाउँपालिका–७ स्थित चन्द्रमणि भट्टराई स्मृति प्रतिष्ठानमा झापा निर्वाचन क्षेत्र नं ३ का कार्यकर्तासँग भेटघाट गर्नुभएको छ ।

मङ्सिर १४ गते दमकस्थित पार्टीको क्षेत्रीय कार्यालयमा झापा–५ का र सोही दिन कनकाईस्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानमा झापा–४ का कार्यकर्तासँग छलफल गर्नुहुने झापा क्षेत्र नं १ का क्षेत्रीय सभापति इन्द्र बूढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार मङ्सिर १५ गते धुलाबारीको अतिथि सदनमा झापा–१ र सोही दिन विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा झापा–२ का नेता तथा कार्यकर्तासँग वरिष्ठ उपसभापति शर्माको भेटघाट कार्यक्रम तय भएको छ ।(रासस)

सम्बन्धित समाचार