फेरि रन्किए भीम रावल : ‘प्रेसलाई अङ्कुश लगाउनु हुँदैन, सुदूरपश्चिमलाई अझै ठगियो’

बैतडी, २८ जेठ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इन्चार्ज भीम रावल फेरि ‘आफ्नै’ हरुप्रति कड्किएका छन् । लोकतान्त्रिक सरकारले प्रेसलाई अङ्कुश लगाउनु हुँदैन भन्दै उनी जंगिएका हुन् ।

सञ्चारकर्मीहरुसँग सोमबार बैतडीमा कुराकानी गर्दै प्रेसलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने उनले बताए । प्रेसलाई अङ्कुश लगाउने कुराको कल्पनासम्म पनि गर्न नसकिने उल्लेख गर्दै उनले भने– ‘प्रेस राष्ट्रको चौथो अङ्ग हो, स्वतन्त्र प्रेसको वकालत गरेको छु,’ सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकप्रति लक्षित गर्दै उनले भने– ‘पत्रकारले स्वयं जिम्मेवार बन्नुपर्छ, प्रेसको अधिकार र स्वतन्त्रता कुण्ठित गर्नुहुँदैन ।’



पूर्वउपप्रधानमन्त्री समेत रहिसकेका नेता रावलले बजेटमा सुदूरपश्चिम प्रदेश सधैं ठगिने गरेको जिकिर गगरे । ‘सरकारले सुदूरपश्चिम प्रदेशलाई दिने बजेट गत वर्षभन्दा घटेर आएको छ,’ उनले भने– ‘समाजवादको बाटोमा जान सुदूरपश्चिममा बजेट बढाउनुपर्छ ।’

सुदूरपश्चिम प्रदेश कृषि तथा पर्यटनमा धनी भए पनि सरकारले सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उनको भनाइ छ । उनले भने– ‘पश्चिम सेतीलाई पनि अघि बढाउने हो भने सुदूरपश्चिम मात्रै नभएर समग्र मुलुक नै बन्छ ।’

निर्वाचनका बेला गरिएका प्रतिबद्धतालाई बिर्सनु हुँदैन भन्दै पछिल्लो समय सरकार र जनताबीच तिक्तता र रिक्ता बढेको उनले बताए । पार्टीले गलत गर्‍यो भने खबरदारी गर्नुपर्छ भन्दै पार्टी एकीकरणको लामो समय भइसक्दा समेत जिल्ला तथा स्थानीय तहमा एकीकरण नहुँदा पार्टीले ठूलो क्षति व्यहोर्नुपरेको धारणा उनले व्यक्त गरे । सीके राउतले अझै पृथकतावाद नत्यागेकाले उनलाई तत्कालै विश्वास गर्नु नहुनेमा पनि रावलले जोड दिए  ।

सम्बन्धित समाचार