सुरक्षा गार्डले बनाउँछन् लालपुर्जा

काठमाडौं, २९ जेठ ।

कर्मचारी अभावको कारण देखाउँदै काभ्रेपलाञ्चोकमा सुरक्षा गार्डले लालपुर्जा बनाउने गरेका छन् । कार्यालय सहयोगीले भने मोठ श्रेस्ता भिडाउँछन् । सेवाग्राहीबाट ‘खाजा खर्च’ पाउने भएकाले उनीहरुबीच कामका लागि तँछाडमछाड समेत हुने गरेको छ ।



‘सिद्धान्त र विधिले’ गार्ड र कार्यालय सहयोगीबाट काम गराउन नमिल्ने भए पनि कर्मचारी अभावका कारण बाध्य भएको प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइरालाले बताए । ‘काम गराउन त नमिल्ने हो तर सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर परिचालन गरेका हौं’ उनले भने– ‘उनीहरुले काम पनि जान्दछन् ।’

४५ जनाको दरबन्दी भएको मालपोत कार्यालयमा २९ जना मात्रै कार्यरत छन् । तल्लो तहका कर्मचारीले सेवाग्राहीलाई सहयोग गर्ने नाममा उनीहरुबाट ‘लाभ’ लिने गरेका छन् । प्रत्येक कागजपत्र र फाँटमा लेखापढी व्यवसायीको पहुँच हुने गरेको छ । कर्मचारीसँग समेत आर्थिक लेनदेन हुने भएकाले लेखनदासले लगेका फाइललाई कर्मचारीले प्राथमिकता दिने गरेको खबर नगेन्द्र अधिकारीको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार