बेलायतमै ओलीले भने– ‘आलोपालो प्रधानमन्त्रीको टुंगो छैन’

काठमाडौं, २९ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं, पार्टी एकता भैसकेको छ; अब के गर्दा ठीक हुन्छ– त्यसको टुंगो पार्टीले नै लगाउँछ’– बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने ।



सत्ताधारी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सरकारको कार्यशैलीबारे छलफल भए पनि आलोपालो वा के गर्ने भन्ने विषय नउठेको बताए । नेकपाका अध्यक्षद्वयबीच आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको दस्तावेज सार्वजनिक भैसकेको छ । प्रधानमन्त्री ओली दिल्ली भ्रमणमा रहेका बेला अर्का अध्यक्ष प्रचण्डले यस विषयलाई एउटा टेलिभिजन अन्तर्वार्तामार्फत सार्वजनिक गरेका थिए । यद्यपि सहमतिपत्र भने पहिले नै बाहिर आइसकेको थियो ।

प्रधानमन्त्री ओलीले भने– ‘समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकार दीर्घकालीन योजना तय गरेर अघि बढेको छ ।’ जनताको चाहना राजनीतिक स्थायित्व र विकास रहेकाले त्यसमा सरकार एकचित्त भएर लागेको उनले बताएको खबर ध्रुवराज अर्यालको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार