स्कुल नै ‘बिदा’ दिएर नेताका भतिजको बिहेभोज !

काठमाडौं, २९ जेठ ।

‘छक्का पन्जा– ३’ नामक एक फिल्ममा पढ्ने समयमा स्कुललाई ‘शक्तिशाली’ ले भोजस्थल बनाएको दृश्य छ । तर, त्यो अभिनय मात्र थियो । मंगलबार भने महोत्तरीमा त्यसको वास्तविकता नै देखिएको छ ।



गौशाला नगरपालिका– १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो । पढाइ भएन । व्यवस्थापन समितिले निर्णय नै गरेर स्कुलमा विवाह भोज गर्न विद्यार्थीलाई ‘छुट्टी’ दिएको थयो । विवाह थियो– संघीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोका भतिजको ।

पढाइ रोकेर आयोजना गरिएको भोजमा स्थानीय ‘जनप्रतिनिधि’ र नेताहरू सामेल भए । ‘गन्यमान्य’ निम्तालुले बालबालिका बसेर पढ्ने डेस्क–बेन्चमा भोज खाएको दृश्य रमितलाग्दो थियो । ‘ठूला’ व्यक्तिको बिहेमा बराती राख्न र विवाह भोज खुवाउन पहिल्यैदखि स्कुल बन्द गराउँदै आइएको व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन रामले बताए ।

‘दातालाई विवाह र ब्रतबन्ध गर्न आवश्यक परेमा एक दिन स्कुल बन्द गरेर विद्यालयको जग्गा दिन पाइन्छ भन्ने निर्णय व्यवस्थान समितिले नै गरेको छ, त्यही अनुरूप मंगलबार विद्यालय बन्द गरेर विवाह भोज भयो’– उनले भनेको खबर राजकरण महतोको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार