रेडियो स्टेसनमा आगलागी : ३० लाखभन्दा बढीको क्षति, प्रशारण बन्द

पर्वत, २९ जेठ ।

सामुदायिक रेडियो स्टेसन ‘रेडियो पर्वत’ मा मंगलबार राति आगालागी भएको छ । रातको १ बजे विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै घरमा समेत क्षति पुगेको छ । आगलागीबाट रेडियोको ट्रान्स्मिटरमा क्षति पुगेको छ भने ७ कम्प्युटर, २ मिक्स्चर, हाइब्रिड, टेलिभिजनलगायतका सामग्री पूर्णरूपमा नष्ट भएको रेडियोका स्टेस्न म्यानेजर शङ्कर शर्माले जानकारी दिएका छन् ।



आगलागीपछि बुधबार बिहानैदेखि रेडियोको प्रसारण समेत बन्द भएको छ । कुनै पनि सामान काम नलाग्ने भएकाले प्रशारण बन्द गर्नुको विकल्प नभएको शर्माले बताए । उनका अनुसार स्थानीयवासी र प्रहरीको सक्रियतामा राति २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

विद्युत् जडान गरिएको स्वीचमा समस्या आएका कारण आगलागी भएको हो । आगलागीबाट रेडियो सञ्चालित घरका तीन वटा कोठामा समेत क्षति पुगेको छ । झन्डै ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताइए पनि यकिन विवरण भने आइनसकेको जानकारी शर्माले दिए ।

आगलागी सुरु भएलगत्तै थाहा पाएका कारण कुनै मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । २०६४ देखि ग्रामीण क्षेत्र फलेवासबाट प्रसारण हुँदै आएको यो रेडियो यस क्षेत्रकै पहिलो सामुदायिक रेडियो भएको राससले जनाएको छ ।

सम्बन्धित समाचार