दार्चुला, २९ जेठ । जिल्लाको नौगाढ गाउँपालिका–४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीमा चार विद्यार्थीको ज्यान गएको छ ।
मृत्यु हुनेहरुमा १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्ना रहेको सिप्टीका प्रहरी चौकीका इन्चार्ज देवदत्त भट्टले जानकारी दिए ।
‘सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाइएको र त्यहीमाथि बालबालिकाहरु खेल्ने क्रममा ढक्कन भासिएर उनीहरु सेफ्टी ट्यांकीमा परेका थिए । वर्षा भइरहेका कारण बालबालिको शव निकाल्न ३ घण्टा लागेको भट्टले बताए । बिहान स्कुलमा पढेका बालबालिका साँझ यस्तो घटना भएपछि स्थानीयहरु शोकमग्न बनेका छन् ।
शौचालय पाँच वर्षपहिले सांसद विकास कोषको ४० लाख रुपैयाँमा निर्माण गरिएको थियो ।