नवकान्तिपुरको शुभारम्भ

सन्तुलित समाचार र विचार सम्प्रेषण गर्नु हाम्रा लागि अवसर र चुनौती

‘नवकान्तिपुर डट कम’ का माध्यमबाट आजदेखि डिजिटल सञ्चारको वृहत् सञ्जालभित्र हामी पनि जोडिन आइपुगेका छौं । केही विलम्ब नै सही, हामीलाई पनि तरङ्गहरूको विशाल संसारसँग जोडिन मन लाग्यो । किनभने आजको युग भनेको ‘न्यु मिडिया’ अर्थात् इन्टरनेटमा आधारित सञ्चार माध्यमको युग हो । तरङ्गको माध्यमबाट संसारभरिका मानिसहरूलाई आफ्ना पाठक, दर्शक वा श्रोता बनाउन सक्ने हैसियत राख्ने यस प्रविधिले आमसञ्चारको परिभाषालाई थप व्यापक बनाइदिएको छ । यस नवीन प्रविधिलाई आत्मसात् गर्दै ‘टिम इन्फिनिटी नेपाल’ ले पनि ‘नवकान्तिपुर डट कम’ मार्फत् आम पाठक, दर्शक र श्रोतासामु पुग्ने अठोट लिएको छ । अतः आमसञ्चारका आधारभूत सिद्धान्तभित्र रहँदै व्यावसायिक पत्रकारिताको धर्मलाई आत्मसात् गरेर सत्य–तथ्य र वस्तुनिष्ठ यथार्थका आधारमा निष्पक्ष रूपमा समाचार–सामग्रीहरू पस्कन यस टिम प्रयासरत रहन्छ र प्रतिबद्ध रहने छ । यसै प्रतिबद्धताका साथ अनलाइन पत्रिका ‘नवकान्तिपुर डट कम’ को शुभारम्भ गरिएको हो ।

पत्रकारिताको धर्म निर्वाह गरिरहँदा हामी सबै प्रकारका आग्रह र पूर्वाग्रहबाट माथि उठ्ने प्रयत्न गर्ने छौं । राजनीतिक रङ्ग र नातावाद–कृपावादको प्रभावबाट विमुक्त रहेर सन्तुलित समाचार र विचार सम्प्रेषण गर्नु हाम्रा लागि चुनौती र अवसर दुबै हुनेछ । हामी यस चुनौतीलाई अवसरका रूपमा बदल्ने प्रयास गर्ने छौं । ‘नवकान्तिपुर डट कम’ यही दृष्टिकोणलाई आफ्नो पहिचान बनाउन प्रयत्नशील रहने छ ।



समाचारमूलक सामग्रीका अतिरिक्त यसले सकारात्मक सन्देश र साहित्यिक अभिव्यक्तिलाई पनि यथोचित स्थान दिनेछ । स्रष्टाहरूबाट प्राप्त शिष्ट र मर्यादित सबै खालका लेख–रचनाहरू एवं आलोचना–टिप्पणीको स्वागत गरिने छ । व्यक्तिको सुसूचित हुन पाउने अधिकारको रक्षाका लागि यो टिम लागिपर्ने छ । पत्रकारिताको धर्म निर्वाह गर्दै राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको मर्मको रक्षाका लागि आवाज उठाउन कुनै कसर बाँकी राख्ने छैन । सुरूचिपूर्ण अन्य ज्ञान, विज्ञान र चासोका सामग्रीहरू पनि यथोचित रूपमा पस्कन टिम प्रतिबद्ध रहने छ ।

आजदेखि हामी केही समय परीक्षण प्रकाशन–प्रसारणका रूपमा रहने छौं । यथाशीघ्र विधिसम्मत रूपमा नियमित प्रकाशन–प्रसारण आरम्भ गर्ने छौं । यहाँहरूको साथ, सहयोग र शुभेच्छा हाम्रो प्रेरणाको स्रोत बन्नेछ भने यहाँहरूबाट प्राप्त रचनात्मक सुझाव, सल्लाह तथा प्रतिक्रियाले यस टिमलाई भावी रणनीति तय गर्न मार्गनिर्देश गर्ने छ । धन्यवाद !

३० जेठ, २०७६

सम्बन्धित समाचार