बिरामीको मृत्युभएपछि ओम अस्पताल तनावग्रस्त

अस्पतालमा डाक्टरहरुको लापर्वाहीले विरामीको मृत्यु भएको भन्दै काठमाडौंको चावहिलस्थित ओम अस्पताल अहिले तनावग्रस्त बनेको छ ।

पत्थरीको अपरेसन गर्न ल्याइएकी सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएपछि स्थिती तनावग्रस्त बनेको हो । गत शुक्रबार उनको पित्तथैलीमा पत्थरीको अपरेशन भएको थियो । डाक्टरहरुले पत्थरीको अपरेसन गर्दा सानो आन्द्रा नै काटिदिएका कारण विरामीको ज्यान गएको आफन्तको आरोप छ ।



मलद्वारबाट निस्कनु पर्ने फोहोर आन्द्रा प्वाल परेपछि त्यहीबाट निस्किएर विरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा अहिले मृतकका आफन्तहरुले नारावाजी गरिरहेका छन् । उनीहरुले विरामीको स्वास्थ्यमा यस्तो लापर्वाही गर्ने चिकित्सकलाई तत्काल कारवाही गर्नुपर्ने र क्षतिपूर्तिको समेत माग गर्दै नारावाजी गरिरहेका छन् ।

अस्पताल प्रशासनले भने विरामीको स्वास्थ्यमा त्यस्तो लापर्वाही नगरिएको भन्दै अन्य संक्रमणका कारण विरामीको ज्यान गएको निर्देशक डा. केपी देवकोटाले जनाएका छन् ।

सम्बन्धित समाचार