एक करोड बढीले हेरे प्रकाश सपुतको ‘गलबन्दी’

बाग्लुङ, ३० जेठ । सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ ।

यही जेठ ११ गते यट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । गत साता युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं–१ मा आएको उक्त गीत अहिले ‘टेन्डिङ’ नं ६ मा छ । कम समयमा युट्युबमा धेरै पटक हेरिएको लोकदोहोरीमा गलबन्दीले ‘रेकर्ड’ कायम गरेको हो ।



गलबन्दीमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ । शब्द, सङ्गीत र भिडियो निर्देशन पनि सपुतकै छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । सो गीतको छायाङ्कन सपुतकै जन्मघर बागलुङ धम्जामा गरिएको थियो ।

सपुतले अघिल्लो वर्ष निर्माण गरेको लोकगीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङ नं. १ मा आएको थियो । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’ को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताए । “बोलमायामा पनि स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ थियो । उक्त गीतको भिडियोमा पनि सपुत र अञ्जली अधिकारीको अभिनय छ ।”

परम्परागत रोधीको झल्को दिने गरी गलबन्दीको मौलिक शब्द, सङ्गीत र प्रस्तुतिकरणलाई दर्शकले रुचाइरहेका छन् ।

गीतको भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय बनावटी लाग्दैन । भाका नेपाल प्रालिद्वारा निर्मित गीतको भिडियोमा सपुतका आमाबुबा, भाइ र आफन्तजनको अभिनय देख्न पाइन्छ । यसअघि ‘दोहोरी ब्याटल’ गाएर विवादित बनेका सपुतले सामाजिक मुद्दालाई पनि सिर्जनामार्फत मुखरित गर्दै आएका छन् ।

सम्बन्धित समाचार