पौडेलको निधनप्रति नेकपाबाट श्रद्धाञ्जली

काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेकपाका नेता धनीराम पौडेलको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन र आफन्तमा समवेदना प्रकट गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शोक वक्तव्य जारी गर्दै पूर्वशिक्षामन्त्री पौडेलको निधनले सिङ्गो कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन् ।

नेकपाको केन्द्रीय सदस्य र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य रहिसकेका उनको आज बिहान ६ः४५ मा हृदयाघातका कारण निधन भएको थियो । पौडेल तत्कालीन नेकपा (एकताकेन्द्र मसाल) र नेकपा माओवादी एकीकरण भएपछि बनेको एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य रहेका थिए । पार्टीमा पूर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव सँगाल्दै उनले विसं २०७० मा संविधानसभा सदस्य र त्यसपछि शिक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको सन्देशमा भनिएको छ ।



विसं २०२३ मा बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवीको कोखबाट स्याङ्जाको दरौ गाविसमा जन्मिएका पौडेल विसं २०३७ मा विद्यार्थी राजनीति हुँदै वामपन्थी आन्दोलनमा सहभागी भएका थिए । विसं २०५१ मा तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय संयोजक रहेका उनले पार्टीको वैचारिक मुखापत्र ‘जनएकता’ साप्ताहिकको सम्पादक भएरसमेत पत्रकारिता गरेका थिए। उनका श्रीमती गङ्गा बेल्बासे र दुई छोरी रहेका छन् ।

सम्बन्धित समाचार