मुसीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

रुकुम, ३२ जेठ । रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । दुई सय १० जना बेरोजगारलाई एक महीनाका लागि रोजगारी दिने उद्देश्यले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको हो ।

आज मुसीकोट नगरपालिका– ५ शेरीगाउँमा रहेको नगरपालिका कार्यालय अगाडिको सडकमा वर्षात्का कारण भरिएका नाली सफा गर्दै यो कार्यक्रमको शुरुआत गरिएको हो । रोजगारीका लागि छनोट भएकालाई अब आइतबारदेखि वडावडामा छानिएका योजनामा खटाइने नगरपालिकाले जनाएको छ ।



प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकामा आएको रु ४३ लाख बजेट नगरका १४ वडाका २१० जनाले झण्डै एक महीना बराबरको रोजगारी पाउने नगरपालिकाका रोजगार संयोजक माया श्रीवास्तवले जानकारी दिईन्। उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमकाका लागि दुई दर्जन बढी योजना छनोट भएका छन् । जसमध्ये सबैभन्दा बढी गोरेटो बाटो निर्माणसम्बन्धी रहेका छन् ।

प्रतिक्षालय, चौतारी, खेल मैदान, सचेतना केन्द्र भवन, वाल जाली निर्माण, बालमैत्री शौचालय, धारा, सामुदायिक भवन, पर्खाल र विद्यालयका फिल्ड निर्माणका योजना पनि रहेको संयोजक श्रीवास्तवले बताउनुभयो । कम पर्ने वडामा एउटा र बढी पर्ने वडामा ३०० सम्म योजना परेको बताइएको छ ।

रोजगारीका लागि छनोटमा परेकाका लागि नगरपालिकाले अभिमुखीकरणको आयोजना गरेको थियो । नगर प्रमुख देविलाल गौतमले आफूले पाएका जिम्मेवारी इमान्दारीताका साथ निर्वाह गर्न रोजगारीको अवसर पाएकालाई अनुरोध गरे ।

चौधवटै वडाबाट बोलाएर उनीहरुले गर्नुपर्ने कामका बारेमा सम्झाएर पठाएको रोजगार संयोजक श्रीवास्तवको भनाइ छ । उनीहरुले आइतबारदेखि वडावडामा छनोट भएका योजनामा काम गर्ने छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत छ स्थानीय तहका लागि रु दुई करोड सात लाख जिल्लामा आएको छ । सबैभन्दा बढी बजेट मुसीकोटमा आएको छ भने बढी बेरोजगारलाई मुसीकोटले नै रोजगार बनाउँदै छ । जिल्ला भरमा ९३४ बेरोजगारले रोजगारी पाउँदै छन् ।

सम्बन्धित समाचार