पोखरा, ३२ जेठ । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार देश विकासका लागि प्रमुख बाधक भएको बताएका छन् । शैलजा आचार्य आदर्श समाज कास्कीद्वारा आज यहाँ आयोजित भ्रष्टाचारविरुद्धको नागरिक अभियान कार्यक्रममा उनले भ्रष्टाचारको अन्त्यविना विकास सम्भव नभएको विचार व्यक्त गरे ।
भ्रष्टाचारका कारण राजनीतिप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै उनले केही नेताका कारण राजनीति गर्ने नेताप्रति पनि जनताको असन्तुष्टि बढेको धारणा राखे । पूर्वसभामुख तारानाथ रानाभाटले भ्रष्टाचारी जोसुकै भए पनि छाड्न नहुने बताउँदै पछिल्लो समयमा भ्रष्टाचार दिनानुदिन मौलाउँदै गएको छ भने।
शैलजा आचार्य आदर्श समाजकी अध्यक्ष दुर्गा घिमिरेले भ्रष्टाचारकै कारण धनी र गरीबबीचको खाडल बढ्दै गएको बताउँदै यसको न्यूनीकरणमा जनता नै सजग बन्नुपर्ने आवश्यकता औँल्याईन् ।