ललितानिवास जग्गा प्रकरणः अनुसन्धान नसकिएपछि दुई महिना थप्न प्रस्ताव

बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको नेपाल प्रहरीले तोकिएको समयमा काम पूरा नभएपछि थप दुई महिना समय मागेको छ । सरकारले दिएको तीन महिना अवधिमा अनुसन्धान पूरा नभएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २ महिना अतिरिक्त समय मागेको हो ।

२०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हिनामिना गर्नेमाथि तीन महिनाभित्र अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ब्युरोलाई जिम्मेवारी दिएको थियो ।



मुआब्जा तिरेर अधिग्रहण गरिएको जग्गा किर्ते कागजात तयार पारी व्यक्तिका नाममा नामसारी गर्ने डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी, भूमाफिया, तत्कालीन भोगाधिकारी र निर्णय तहमा संलग्न मन्त्रालयका कर्मचारीमाथि आयोग र ब्युरोले अनुसन्धान गरिरहेका छन् ।

‘तोकिएको समयमा अनुसन्धानले पूर्णता नपाएपछि दुई महिना अतिरिक्त समय मागेका छौं,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘त्यहीअनुसार अनुसन्धान अवधि बढाउने प्रस्ताव गृह मन्त्रालयलाई पठाउने तयारी छ ।’ ब्युरोले एसपीको नेतृत्वमा बालुवाटारको जग्गा हिनामिनामाथि अनुसन्धान गरिरहेको छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।

सम्बन्धित समाचार