समसामयिक राजनीतिको समिक्षा र भावी रणनीति तय गर्न राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक असार ६ र ७ गते काठमाडौंमा बस्ने भएको छ ।
राप्रपाले राखेको २२ बुँदे माग, सरकारसंग भएको पहिलो चरणको वार्ता, पार्टीले सञ्चालन गरेको जनसंघर्षका कार्यक्रम, दुई चरणको राष्ट्रिय स्वाभिमान यात्रालगायतका विषय बैठकको एजेण्डा हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
बैठकमा राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष कमल थापाले र संगठन सम्बन्धि प्रतिवेदन महामन्त्री राजेन्द्र लिङ्देनले प्रस्तुत गर्ने श्रेष्ठले जानकारी दिए । बैठकमा केन्द्रीय समिति, प्रदेश कार्य समितिका अध्यक्षहरु, केन्द्रीय विभागका प्रमुख, भातृ संगठनका प्रमुख र ७७ वटै जिल्लाका अध्यक्ष सहभागी हुनेछन् । प्रदेश अध्यक्ष, भातृ संगठनका प्रमुख र जिल्ला अध्यक्षले पनि सांगठनिक र भावी कार्य योजनाबारे प्रतिवेदन पेश गर्ने श्रेष्ठले बताए ।