सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै आज माइतीघर मण्डलमा सरोकारवालाहरूले खबरदारीसभा आयोजना गरेका छन् ।सो विधेयकले गुठीको सम्पदा र संस्कृतिमाथि प्रहार गर्ने भएकाले प्रदर्शनकारीले खारेजीको माग गरेका हुन् । गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने भन्दै खबरदारीका लागि विधेयक फिर्ता होइन खारेज हुनुपर्छ भन्दै बुधबार राजधानीका विभिन्न स्थानबाट र्याली निकालेका छन् ।
काठमाडौंको विभिन्न स्थानबाट निस्किएको र्याली माइतीघर मण्डलामा आयोजित खबरदारीसभामा गएर मिसिएको छ । खबरदारीसभा हुनु अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड प्रदर्शनकारीहरुले बोकेका थिए ।
भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले थप परामर्शका लागि भन्दै मङ्गलबार विधेयक फिर्ता लिइएको निर्णय सार्वजनिक गरेकी थिईन् ।
उनले सो विधेयकलाई लिएर जनसमुदायमा भ्रम उत्पन्न गराउने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोसिस भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी दिएकी थिईन्।