सरकार प्रविधिको प्रयोगबाट मुलुकलाई समृद्ध बनाउने अभियानमा छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाईको विषयलाई थाँती राखेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् । बुधबार कलंकीस्थित मालपोत कार्यालयलाई ‘नमूना मालपोत कार्यालय’ घोषणा गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागि परेको बताए ।

यस अभियानमा सबैको साथ र सहयोग जरुरी रहेको भन्दै उनले मुलुकमा रहेको वन, जंगललगायतका स्रोतहरुलाई प्रविधिको प्रयोग गरेर विकास गरी एक करोड बढि पर्यटक भित्र्याउने सम्भावना रहेको दावी गरे ।



त्यसको लागि प्रविधिको प्रयोग गरेर विकासको प्रयासलाई अघि बढाउने सरकारको अभियानमा सबैले सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले ‘नेपाल भ्रमण वर्ष ( २०२०’ मा २० लाख पर्यटक भित्र्याउन प्रयास गरिरहेको उल्लेख गर्दै यहाँको प्राकृतिक स्रोतहरुको विकास गरी सरकारले एक करोड बढि पर्यटक भित्रयाउन सक्ने सम्भावना रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले २ वर्ष भित्र देशका सबै मालपोत कार्यालयहरुलाई प्रविधिमैत्री बनाउने घोषणा गरे । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले सेवाग्राहीहरुलाई सहज ढंगले सेवा पुर्‍याउने गरी कलंकी मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालयको रुपमा विकास गरिएको बताइन् । उनले २ वर्ष भित्र सबै स्थानीय तहमा प्रविधियुक्त मालपोत कार्यालयको विकास गर्ने योजना रहेको बताए ।

सम्बन्धित समाचार