पोखरा पुगेर प्रचण्डले गरे मन्त्रिपरिषद् पुनःगठनको संकेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आयोजित एक कार्यक्रममा मन्त्रिपरिषद् पुनःगठनको संकेत गरेका छन् । पोखरा पर्यटन परिषद्ले यहाँ आज आयोजना गरेको छलफलमा पूर्वप्रधानमन्त्री दाहालले सङ्घीय सरकारमा पर्यटनमन्त्री नभएर पनि पर्यटन क्षेत्रमा समस्या भएको भन्ने व्यवसायीको भनाइप्रति सहमत हुँदै अध्यक्ष दाहालले अहिले मन्त्रिपरिषद् पुनःगठनका बारेमा पनि छलफल चलेको र सरकारको समीक्षा भईरहेकोले चाँडै निर्णय हुने बताए।

कार्यक्रममा उनले पोखरामा रहेका रत्नमन्दिर र हिमागृह तत्काल खुला गर्न आफूले पहल गर्ने पनि बताए। दाहालले विगतमा पूर्वराजपरिवारका सदस्यको स्वामित्वमा रहेको र हाल नेपाल ट्रष्टको मातहतमा रहेका यी दुई दरबार खुला गर्न केही समस्या नभएको स्पष्ट पारे ।



हिमागृह र रत्नमन्दिर खुलाउने सन्दर्भमा कठिनाइ नभएको र मन्त्रिपरिषद्ले निर्णय गरे हुने बताउँदै उनले भने, ‘दरबार सर्वसाधारणका लागि खुला गर्दा पोखरामा पर्यटक बढ्ने र उनीहरुको बसाईं कमसेकम एक दिन, नभए पनि आधा दिन थपिन्छ ।’

गणतन्त्र घोषणापछि नारायणहिटी दरबारलगायत तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य तथा निजका परिवारको सम्पत्ति नेपाल ट्रष्टको मातहतमा ल्याएर नारायणहिटीलगायतका दरबार खुला गरिँदासमेत यहाँका यी दुई दरबार भने लामो सयमदेखि बन्द रहँदै आएका छन् ।

पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले फेवाताल रहेमात्र पोखराको अस्तित्व रहने बताउँदै सङ्घ, प्रदेश तथा स्थानीय तीनै सरकारको नीति, कार्यक्रम तथा बजेटमा ताल संरक्षण प्राथमिकतामा नपरेको भनाइ राखे। उनले पर्यटनमन्त्रीको अभावमा नेपाल भ्रमण वर्ष लगायतका कार्यक्रम अघि बढ्न नसकेको बताउँदै यस क्षेत्रमा अभिभावकत्वको आवश्यकता रहेकाले छिटो पर्यटनमन्त्री नियुक्त गर्न माग गरे ।

सम्बन्धित समाचार