निर्माण ठप्प रहेको मेलम्चीको काम पुनःशुरु

इटालीयन ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेर छाडेको मेलम्ची खानेपानी आयोजनाको काम पुनःशुरु भएको छ । सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ । आयोजनाका काम गत पुसदेखि ठप्प छ । निर्माण ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य शुरु गरेको छ ।

आयोजनाका सुरुङभित्र गरिने ‘भेन्टिलेसन साफ्ट’को कामलाई समितिले अगाडि बढाएको छ भने सुन्दरीजलमा बढी भएको पानी बाग्मतीमा खसाल्ने ‘आउट फल’को काम पनि शुरु भएको छ ।



समितिले मेलम्ची आयोजनाको सुरुङ ‘फिनिसिङ’ र ‘हेड वक्रस’ निर्माणको कार्य अघि बढाउन दुई वटा मुख्य प्याकेजको राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जसमा सुरुङ फिनिसिङका लागि गरिएको बोलपत्र (टेण्डर) आह्वानको समय सकिएकाले यसको मूल्याङ्कन भइरहेको छ ।

हेडवक्र्स (मुहानको संरचना) निर्माणका लागि गरिएको बोलपत्रको अन्तिम समयावधि असार १६ गतेसम्म रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । ‘अब मेलम्चीको काम शुरु भइसकेको छ । शुरुआती चरणमा ‘भेन्टिलेसन साफ्ट’का लागि ‘ड्रिलिङ’को काम शुरु भएको छ’, प्रवक्ता शाक्यले भने, ‘उता सुन्दरीजलमा पानीको आउट फलका लागि काम अघि बढाइएको छ ।’

मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार मेलम्ची आयोजनाको बाँकी कामलाई मुख्य दुई वटा प्याकेजमा विभाजन गरिएको र त्यसभित्र स–साना गरी १० वटा प्याकेजमा बाँडिएको छ । ‘पहिलो प्याकेजमा हेड बक्सअन्तर्गत ड्याम निर्माण र पुल निर्माणलगायत छन्’, उनले भने,-‘दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट निर्माण र भेन्टिलेसन साफ्टलगायत निर्माण कार्य छन् । अब मेलम्चीमा देखिएको अन्योलता समाप्त भएको छ ।’

सुरुङ फिनिसिङ कार्यका लागि गरिएको बोलपत्र आह्वानमा बोलपत्र दर्ता गरेका कम्पनीको मूल्याङ्कन गरी छिट्टै अन्य बाँकी काम सञ्चाचलन गर्ने तयारी मेलम्ची समितिले गरिरहेको छ । एक महीनाअघि मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानूनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रालयले समितिलाई मेलम्चीको काम तत्काल शुरु गर्न निर्देशन दिएकाले काम अघि बढेको हो ।

सम्बन्धित समाचार