सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध, कति पाउछन् पारिश्रमिक ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् ।

राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औँ चरणमा ६० हजार अमेरिकी डलर खर्चेर खरीद गरेको हो । सन्दीपले आफ्नो न्यूनतम मूल्य ६० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीपको टोलीको मार्की खेलाडी भने भारतीय टोलीका पूर्वब्याट्सम्यान युवराज सिंह छन् ।



उनले गतवर्ष ग्लोबल टी–२० क्रिकेट क्यानाडामा मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए । त्यतिबेला टाइगर्सले सन्दीपलाई ४० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

त्यसैगरी विदेशी फ्रेन्चाइज लिग खेल्ने दोस्रो नेपाली क्रिकेटर बनेका सोमपाल विनिपेग हक्समा अनुबन्ध भएका हुन । सोमपाल पहिलो पटक ग्लोबल टी ट्वान्टी लिग खेल्न लागेका हुन् । ड्राफ्टमा तीन हजार अमेरिकी डलर न्यूनतम रकम राखेका सोमपाललाई ११औँ चरणमा हक्सले अनुबन्ध गरेको हो । सोमपालले तीन हजार अमेरिकी डलर पाउनेछन् ।

उक्त प्रतियोगिताका लागि नेपालबाट १२ खेलाडीले नाम दर्ता गराएका थिए । जसमा दुई खेलाडी मात्र छनोट भएका हुन् । यस सिजनको लिग आगामी जुलाई २५ देखि ११ अगष्टसम्म क्यानाडामा आयोजना हुँदैछ ।

सम्बन्धित समाचार