डेनमार्कमा कांग्रेसको विश्व भेला, शीर्ष नेता कोपनहेगन पुगे

डेनमार्कको कोपनहेगनमा कांग्रेसका ३३ वटै जनसम्पर्क समितिमा आबद्ध नेता कार्यकर्ताका लागि विश्व भेला एवं प्रशिक्षण कार्यक्रम सुरु भएको छ । शुक्रबार राति उद्घाटन भएको कार्यक्रम लगातार तीन दिनसम्म चल्नेछ । कार्यक्रमका लागि नेपालबाट झन्डै दुई दर्जन कांग्रेस नेताहरू कोपनहेगन पुगिसकेका छन् । कार्यक्रमको उद्घाटन कांग्रेस उपसभापति विमलेन्द्र निधिले गरेका छन् ।

निधिसहित कांग्रेस महामन्त्री डा शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरू डा मीनेन्द्र रिजाल, भीष्मराज आङ्देम्बे, धनराज गुरुङ, नैनसिंह महरसहितका नेता सहभागी छन् । त्यस्तै, गोविन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, नेतृ प्रतिमा गौतमसहितका नेता सहभागी छन् । प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, कांग्रेस केन्द्रीय कार्यालयमा सचिवद्वय प्रकाश शर्मा र मुक्ति आचार्य पनि डेनमार्क पुगेका छन् ।



त्यस्तै, भक्तपुर सभापति दुर्लभ थापा पनि डेनमार्क पुगेका छन् । कार्यक्रममा ३३ वटै देशमा रहेका कांग्रेसको जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्ताहरू सहभागी हुनेछन् । उनीहरूलाई कांग्रेसको राजनीतिक कार्यक्रमको विषयमा प्रशिक्षण दिने र उनीहरूले नेपालको विकासमा गर्न सक्ने योगदानका विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । ३३ वटै देशमा कांग्रेसका यस्ता शुभेच्छुक जनसम्पर्क समिति छन् ।

सम्बन्धित समाचार