विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता पक्राउ, तीन थान भरुवा बन्दुक बरामद

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो ।

एक व्यापारीसँग चन्दा माग्न जाँदै गर्दा सुन्दरहरैचा नगरपालिका–१२ का ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय कन्सा माझी धिमाल पक्राउ परेका हुन् । राई चन्द समूहका जिल्ला सचिव तथा धिमाल कार्यकर्ता हुन् । उनीहरुको साथबाट दुई पेस्तोल, चार म्यागजिन र १४ राउण्ड गोली बरामद गरिएको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।



पक्राउ परेकाहरुको बयानका आधारमा सोमबार प्रहरीले उर्लाबारी नगरपालिका–२ का ४८ वर्षिय केन्द्रलाल धिमललाई पक्राउ गरेको हो । धिमालको घरबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ । घरमा खोजतलास गर्दै पुगेको प्रहरीले तीनमध्ये एक बन्दुक लोड गरेको अवस्थामा फेला पारेको हो ।

धिमालको घरबाट बारुद, छर्रा पनि बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार पक्राउ परेका राई विप्लव समुहको मोरङ जिल्ला जनपरिषद प्रमुख हुन् । केन्द्रलाल र कंश भने जिल्ला तहका नेता हुन् ।

सम्बन्धित समाचार