मजदूरको सम्मान भए मात्र देशको उन्नति हुन्छ : वरिष्ठ नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सभ्य समाज निर्माणका लागि सबै मजदूरको सम्मान हुनुपर्ने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनको ४०औँ स्थापना दिवसका अवसरमा आज लगनखेलमा आयोजना गरिएको कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले मजदूरको सम्मान भए मात्र देशको उन्नति हुने बताए ।

“पेशालाई मर्यादित बनाउन चालक र सहचालकलाई प्रशिक्षण र निगरानीको आवश्यकता छ”, उनले भने, “चालक र सहचालकको पेशालाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेका कारण समाजमा झन् विकृति बढेको देखिन्छ ।” मजदूर श्रमजीवी भएको उनको भनाइ थियो । चालकलाई पहुँचका आधारमा नभई क्षमताका आधारमा चालक अनुमतिपत्र दिनुपर्ने नेता नेपालले बताए ।



नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चालकहरुलाई सभ्य भाषाको अभियान चलाउन अनुरोध गरे । राजमार्ग र काठमाडौँ उपत्यकाका सबै सडकमा सिसिटिभी जडान गर्न यातायात मजदूरले सरकारलाई दबाब दिनुपर्ने उनले बताए । नेकपाका ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले नेपालका सबै राजनीतिक परिवर्तनमा मजदूरको सहयोग महत्वपूर्ण रहेको बताउ । नेपाल मेडिसिटी अस्पतालका प्रमुख डा उपेन्द्र महतले यातायात मजदूरले बर्सेनी स्वास्थ्य जाँच गराउनुपर्ने बताउ । कार्यक्रमा यातायात क्षेत्रमा संलग्न १६९ जनाले रक्तदान गरेका थिए ।

सम्बन्धित समाचार