गुठीको जिम्मा प्रदेश वा स्थानीय सरकारलाई देउ : बिजुक्छे

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गाको नियन्त्रण एवं व्यवस्थापन गर्न उपत्यकाका गुठीको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारहरूलाई दिनुपर्ने बताएका छन्।

भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाको आज उद्घाटन गर्दै उनले नेपालका गुठी जग्गा लथालिङ्ग अवस्थामा रहेकाले यसको व्यवस्थापन जरुरी रहेको बताए । जनप्रतिनिधिले जनताको मतलाई अप्ठ्यारो हुने गरी काम गर्न नहुनेमा जोड दिँदै उनले किसानहरूबीच समानता ल्याउन किसानलाई मोहियानी हक दिनुपर्ने उल्लेख गरे ।



बिजुक्छेले टोल–टोलमा भएका सांस्कृतिक सम्पदाको पुनर्निर्माणको जिम्मा पनि स्थानीय तहलाई नै दिनुपर्नेमा जोड दिँदै नगरपालिकाभित्र खाद्य गुणस्तर जाँच गर्ने प्रविधि, कर्मचारीलाई समयसापेक्ष तालीम, सडकपेटी व्यवस्थापन, सफा पशु बधशाला र आदर निकेतनका लागि आवश्यक ऐन बनाउनुपर्ने औँल्याए ।

कार्यक्रमका सांसद प्रेम सुवालले भक्तपुरको नगरकोट–बागिश्वरीलाई जलाधार संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने बताए । नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सङ्घीयताको अर्थ प्रशासनिक, वित्तीय स्वायत्तता र विकेन्द्रीकरण भएको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहबीच एकल तथा साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोतसाधनको उपयोग र बाँडफाँटमा समन्वय हुन आवश्यक भएकामा जोड दिए ।

उपप्रमुख रजनी जोशीले समाजलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन डाक्टर र इञ्जिनीयरबाहेक भूगोल, इतिहास, कला–संस्कृति र राजनीतिशास्त्रलगायतका विषयको अध्ययन आवश्यक भएकाले नगरपालिकाले यी विषयका लागि छात्रवृत्तिको व्यवस्था गरेको बताईन् ।

सम्बन्धित समाचार