सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि छोराछोरी पढाइ रोकिने चिन्तामा छन्। बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज पौडेलको मृत्यु बिहीबार दिउँसो लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा प्रहरी ‘इन्काउन्टर’मा भएको थियो।
पौडेलका छोरा १५ वर्षका कुशल र श्रीमती ३७ वर्षीया कला किरिया बसेका छन्। बाबुको मृत्युबाट विक्षिप्त बनेका कुशलले भक्कानिँदै भने– ‘मेरो सीए पढ्ने र बहिनीको डाक्टर बन्ने चाहना सकियो, अब के गर्ने, कसो गर्ने केही सोच्न सकिएको छैन।’ कांग्रेसबाट राजनीति शुरू गरेका ४७ वर्षका पौडेल एमाले, माओवादी हुँदै विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बनेका थिए। यो समाचार नेपाल समाचारपत्रमा छापिएको छ।