क्लिन फिड लागु गर

मिडिया विधेयकभित्र समेटिएको र संसदमा विचाराधीन अवस्थामा रहेको क्लिन फिडसम्बन्धी व्यवस्था लागु गर्नु हरेक पक्षबाट समीचीन देखिएको तथा क्लिन फिड लागु गर्दा मुलुकलाई तत्कालीन र दीर्घकालीन दुबै रूपमा लाभ हुने देखिएकोले अब पनि क्लिन फिड लागु गर्न बिलम्ब गरिनुहुन्न । सरोकारवाला मात्र होइन, आम नेपाली जनताको चाहना पनि यही हो । उनीहरूको चाहनाको सम्बोधन गरिनुपर्छ ।

नेपालमा आजभन्दा १०-१२ वर्षपहिलेदेखि नै क्लिन फिडसम्बन्धी आवाजहरू उठेका हुन् र नेपाल विज्ञापन संघ (आन) ले यसको नेतृत्वदायी भूमिका निर्वाह गरेको हो । तर त्यति बेला जनस्तरमा क्लिन फिडले त्यति प्रभाव पार्न सकेन, किनभने आम जनताले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरू विज्ञापनरहित पनि प्रसारण हुन सक्छन् र हामीले सेवा प्रदायकलाई मासिक रूपमा शुल्क बुझाइसकेपछि विज्ञापनरहित सफा सामग्री मात्र हेर्न पाउनुपर्छ भन्ने कुरा बुझेकै थिएनन् । नबुझेर नै विदेशी विज्ञापनहरूलाई उनीहरूले कार्यक्रमकै एउटा हिस्साको रूपमा स्वीकार गरिरहे । जब टेलिभिजनका उपभोक्ताहरूले कुरा बुझे, अनि मात्र आफूहरू वषौंदेखि ठगिएको महसुस गरे । अझ जब मासिक शुल्क अग्रिम रूपमा बुझाइसकेका उपभोक्ताहरूलाई सेवा प्रदायकहरूले क्लिन फिड विधेयकका विरूद्धमा एक्कासी सेवा अबरूद्ध गरिदिए, त्यसपछि उपभोक्ता झन बढी झस्किए । त्यसैले पनि आज क्लिन फिडसम्बन्धी कुरा सडक, सदन र घरघरमा पुगेपछि आम जनताहरू क्लिन फिडका पक्षमा गोलबद्ध हुन पुगे ।



नेपाली समाजलाई बढी प्रभावित पार्ने भारतीय च्यानलहरू हुन् । ती च्यानलहरूका माध्यमबाट बहुर्राष्ट्रिय कम्पनीहरू नेपाली उपभोक्ताहरूबाट दोहोरो लाभ लिंदै आएका थिए । भारत लक्षित बनाइएका विज्ञापनहरूले नेपालमा निर्वाध रूपमा प्रवेश पाउँदा त्यही विज्ञापनले नेपाली उपभोक्तालाई पनि प्रभाव पार्ने भएकोले उनीहरूले नेपाललाई मात्र लक्ष्य गरेर विज्ञापन बनाइरहनु नै परेन र एउटै लगानीले भारतीय र नेपाली उपभोक्तालाई आफ्नो प्रभावमा पारिरहे । अर्कोतिर निःशुल्क रूपमा प्रसारण गर्न पाइने टेलिभिजन च्यानलहरूलाई सशुल्क बेचेर वषौंदेखि अकुत लाभ पनि लिइरहे । त्यसैले आज उठेको क्लिन फिडका कुराले उनीहरूलाई मानसिक रूपमा केही धक्का लागेको हुनुपर्छ र कुनै अँध्यारो कुनामा बसेर षडयन्त्रको जाल बुन्दै गरेको पनि हुनुपर्छ । तर, अब नेपाली जनता झुक्किनेवाला छैनन् ।

क्लिन फिड आर्थिक पक्षसँग मात्र जोडिएको विषय होइन, यो राष्ट्रियताको कोमल भावनासँग पनि जोडिएको विषय हो । नेपालीहरू राष्ट्रियताका सवालमा कति संवेदनशील छन् भन्ने कुरा सबैलाई थाहा छ । त्यसैले पनि एउटा सानो स्वार्थ–समूहले विदेशी च्यानलहरू १-२ दिन बन्द गर्दैमा वा बन्द गर्ने धम्की दिंदैमा क्लिन फिडसम्बन्धी अवधारणामा परिवर्तन आउँदैन र आउनु हुँदैन पनि । यो अन्तर्राष्ट्रिय मान्यता भएकोले पनि यस कार्यले निरन्तरता पाउनुपर्छ । राम्रो कामको थालनी गर्दा केही न केही अवरोधहरू आउन सक्छन् तर त्यसो भन्दैमा आफ्नो लक्ष्यबाट विमुख हुनुहुन्न ।
१२ जेठ ०७६

सम्बन्धित समाचार