दुई सय ५० जना राप्रपामा प्रवेश, अध्यक्ष थापा भन्छन् -‘कांग्रेस र कम्युनिस्टप्रति जनताको मोह भंग हुँदैछ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टप्रति जनताको मोह भंग हुँदै गएको बताएका छन् । काठमाडौंमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले अघि सारेका एजेण्डाप्रति सहमत हुँदै सयौंको संख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश हुनुले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न शुभ संकेतको आरम्भको रुपमा लिएको बताए ।

थापाले एकता महाधिवेशनलाई आधार मानेर विलम्व नगरी पार्टी एकतामा आउन पशुपति शम्सेर जबरा र डा। प्रकाशचन्द्र लोहनीलाई आग्रह गरे । नाममा लोकतन्त्र तर व्यवहार भने सर्वसत्तावाद तर्फ उन्मुख भएको भन्दै गरिबी र बेरोजगारीका वावजुद भ्रष्टाचार महारोगको रुपमा पछिल्लो समय देखिएको चर्चा गर्दै बीपीको विचार बोक्दा खुशी हुनुपर्नेमा उल्टो पीडा र छटपटी हुनु विडम्वना भएको उनले बताए । कांग्रेस र कम्युनिस्टको वैचारिक असफलताको विरुद्धमा सम्वर्धनवादको वैचारिक दर्शन अब जनताको रोजाइ हुने उनको दाबी थियो ।



प्रवेश कार्यक्रममा शुक्रबार काठमाडौंमा दुई सय ५० जना राप्रपामा प्रवेश गरेका छन् । राप्रपा संयुक्त परित्याग गर्दै काठमाडौंमा प्रभावशाली नेताको रुपमा परिचित जय कुमार खड्का सहितका नेता तथा कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका हुन् ।

उनीसँगै पार्टी प्रवेश गर्नेहरुमा सुरज पाण्डे, सानुकान्छा श्रेष्ठ, श्याम खत्री, रामेश्वर पौडेल, शम्भु खड्का, सरोज अधिकारी, बद्री मानन्धर, तिलक मजगैंया, बलराम थापा, बाबुराम वानिया, कपुर लामा, उत्तम लामा, रञ्जन खनाल, सान्ननी सुनार, राजकुमार पण्डित, नारायण प्रसाद श्रेष्ठलगायत रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

सो अवसरमा राप्रपा सयुक्तका केन्द्रीय सदस्य बलराम थापाको नेतृत्वमा सिङ्गो नवलपुर जिल्ला कार्यसमिति र दामोदर भण्डारीको नेतृत्वमा दाङ जिल्ला कार्य समिति समेत राप्रपामा समाहित भएको छ । कार्यक्रममा वरिष्ठ नेता दिपक वोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रदेश ३ का अध्यक्ष विक्रम बहादुर थापा, जय कुमार खड्का लगायतका नेताहरुले सम्बोधन गरेक थिए ।

सम्बन्धित समाचार