परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद नरहेको बताएका छन् । मदन भण्डारी बौद्धिक मञ्चले आयोजना गरेको ‘समाजवादउन्मुख अर्थ व्यवस्था, आजको आवश्यकता’ विषयको गोष्ठीमा उहाँले पार्टीको अबको महाधिवेशनले मार्गदर्शक सिद्धान्तका बारेमा टुङ्गो लगाउने बताए ।
नेकपाको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ वा ‘जनताको जनवाद’ विषयमा विवाद बढिरहेको भन्ने खबर आइरहेका बेला मन्त्री ज्ञवालीले सिद्धान्तका कारणले नेकपामा कुनै समस्या नआउने बताए । उनले पार्टीमा कुनै वैचारिक अन्योलता नरहेको जिकिर गर्दै कम्युनिष्ट अन्दोलनका विषयमा कुनै प्रश्न आएमा उत्तर खोज्न तयार रहनुपर्ने बताए ।
उनले मदन भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्तका कारण सङ्कटमा पर्दै गइरहेको कम्युनिष्ट आन्दोलनले सार्थकता पाउन सकेको बताए। “मदन भण्डारीले अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनका कमजोरीलाई समेत औंल्याउन सफल हुनुभयो”, उनले भने, “माक्र्सवादको सिद्धान्तलाई सिर्जनात्मक ढङ्गले विकास र प्रयोग गर्नमा जोड दियो ।” नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका ज्ञवालीले भण्डारीकै नीति र सिद्धान्त अवलम्बन गरेकै कारण नेपालमा कम्युनिष्ट पार्टीको लोकप्रियता उच्च रहेको बताए ।