आयुर्वेदिक औषधिमा आकर्षण बढ्दो

रामपुर नगरपालिका–५ मटेरी बस्ने हरिकला रेग्मीले मेडिकलका औषधिमा धेरै रकम खर्च गरिन् । उनलाई लामो समयदेखि ग्याष्ट्रिक, पेट दुख्ने, खाना खान पटक्कै मन नलाग्ने समस्याले पिरोलेको थियो ।

यी समस्याका लागि पटक पटक निजी मेडिकल, अस्पतालमा धाईन्, धेरै रकम खर्चिईन्, तर बेथा पीडा भने निको होलाभन्दा उस्तै रह्यो । ‘सञ्चो होला भनेर मेडिकलमा गएर औषधि ल्याएर खान थालेको झन बेथा बल्झिन थाल्यो’, उनले भनिन् । छ महीना अघिदेखि उनले आयुर्वेदिक औषधि नियमित रुपमा सेवन गर्दै आएकी छिन् ।



‘आयुर्वेदिक औषधालयमा गएर स्वास्थ्यकर्मीसँग जाँच गराएर नियमित औषधि खाएपछि बेथा ठीक हुँदै गएको छ, मेडिकलको औषधि प्रयोग गर्न छाडे’, रेग्मीले भनिन् । उनले अहिले बेला बेलामा आयुर्वेदिक औषधालय गएर स्वास्थ्य जाँच, औषधि खाने गर्छिन् । देवका ढकाल पनि पेट दुख्ने समस्याले धेरै ठाउँमा उपचार गराउन पुगिन् । मेडिकलको औषधि सेवनले निको होलाभन्दा झन बेथा बढ्दै जान थालेपछि उनी पनि आयुर्वेदिक औषधालय अहिले धाउन थालिन् ।

‘आयुर्वेदिक औषधि खाएर शरीरलाई ठीक पनि भएको छ, अहिले त तन्दरुस्त छु, पेट दुख्ने समस्या पनि कम हुँदै गएको छ, औषधोपचार सेवा सबै निःशुल्क पाइने रहेछ’, उनले भनिन् । अहिले पाल्पाको रामपुर आयुर्वेदिक औषधालयमा सेवा लिनेको चाप बढ्दो छ । पेट, ग्याष्ट्रिक, खाना मन नलाग्ने, गानोगोलाजस्ता समस्या लिएर बिरामी अस्पतालमा जाने गरेको पाइएको छ ।

रामपुर औषाधालयमा दैनिक २५ देखि ३५ सम्म बिरामीले सेवा लिँदै आइरहेको वरिष्ठ कविराज चेमनप्रकाश पोखरेलले बताउछन्। उनका अनुसार एक महीनामा ३५० को हाराहारीमा बिरामीले सेवा लिएका छन् । नेपाल सरकारको विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यस औषधालयबाट २३ प्रकारका औषधि पाइन्छ ।

सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन् । यस औषधालयमा सेवा लिनेमध्ये बढी महिला छन् । विभिन्न जडीबुटीबाट उत्पादित औषधि भएकाले पनि हिजोआज आयुर्वेदिक औषधि प्रयोगकर्ता बढ्दै गएका हुन् ।

सम्बन्धित समाचार