शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा

जुम्लाका तीन विद्यालयलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको छ । किर्डाक नेपाल जुम्लाको सहजीकरण, प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय सरकारको आयोजनामा तीन विद्यालयलाई बालबालिकामुक्त समुदाय घोषणा गरिएको हो ।

हिमा गाउँपालिकाको भैरव आधारभूत विद्यालय जोडिवाडा, सिञ्जा गाउँपालिकाको जाँच र धाँपागाउँमा रहेका विद्यालयलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको छ । असी घरधुरीको जोगिवाडा गाउँका ९९ बालबालिका विद्यालय भर्ना भएपछि शनिबार उक्त गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको हो । उक्त गाउँका सबै बालबालिका विद्यालय पहुँचमा पुगेका छन् । विद्यालय क्षेत्र बाहिरका बाबालिकालाई विद्यालयको पहुँचमा ल्याइएका कारण विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमहबहादुर शाहीले बताए ।



किर्डाक नेपाल जुम्लाले सञ्चालन गरेको बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनका लागि घरधुरी सर्वेक्षण, विद्यार्थी र्याली, विद्यार्थी खोज अभियान, अभिभावक र वडा बैठक, घरदैलो अभियान, अभिभावक परामर्श कार्यक्रम, विद्यालयमा मैत्रीपूर्ण संरचना निर्माण, शौचालय, खानेपानी, घेराबार र गाउँपालिकाको अनुगमनलगायत विभिन्न सूचक पूरा गरेर जोगिवाडा, जाँच र धाँपागाउँमा रहेका बालबालिकालाई शतप्रतिशत विद्यालय हाताभित्र रहेको सुनिश्चित भएका कारण मुक्त समुदाय घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले सिङ्गो गाउँपालिकाभरिका विद्यालयलाई विद्यालय बाहिर बालबालिका नरहेको घोषणा गरिने बताए । भैरव आधारभूत विद्यालयबाट अभियान शुरु भएको अवगत गराउँदै उनले गुणस्तरीय शिक्षाका बारेमा शिक्षक र अभिभावक गम्भीर हुनुपर्नेमा जोड दिए । शिक्षा पाउने अधिकारबाट बालबालिकालाई प्रत्याभूति गर्न सबै निकाय चनाखो हुनुपर्ने उनको भनाइ थियो । घोषणा गरेर मात्रै नहुने भन्दै उनले पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिए ।

भैरव आधारभूत विद्यालयका प्रधानाध्यापक लालनाथ योगीका अनुसार शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेको बताए । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्लान इन्टरनेश्नल नेपाल र किर्डाक नेपालले सहयोग गरेका कारण सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको उनले बताए । हिमा गाउँपालिकामै पहिलोपटक विद्यालयले नमूनाको काम गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।

सम्बन्धित समाचार