युकेश र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उकृष्ट पुरुष खेलाडीको पुरस्कार प्याराग्लाइडिङका युकेश गुरुङ र महिलातर्फ फुटबलकी सावित्रा भण्डारीले पाउन सफल भएका छन् ।

नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज आयोजित अवार्ड कार्यक्रममा इन्डोनेसियामा सम्पन्न १८ औँ एसियाली खेलकूदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष टिम स्पर्धामा युकेशले नेपाललाई रजत पदक दिलाउएका थिए । उनी एशियाडमा नेपाललाई २० वर्षपछि रजत दिलाउँदा पाँचमध्येका प्रमुख खेलाडी थिए । वर्षको उत्कृष्ट पुरुष विधामा क्रिकेटका पारस खड्का र सोमपाल कामी, जुडोका इन्द्रबहादुर राई र गल्फका शुक्रबहादुर राई मनोनयनमा परेका थिए ।



त्यस्तै वर्षको उत्कृष्ट महिला घोषित हुने फुटबलकी सावित्राले भारतमा भएको अन्तराष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएकी थिइन् । त्यतिबेला नेपालले पहिलो पटक भारतलाई पराजित गरेको थियो । नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन उनको भूमिका महत्वपूर्ण थियो । उनको विधामा भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी नीमा गुरुङ र जुडोकी मनिता श्रेष्ठ मनोनयनमा परेका थिए ।

वर्षको उत्कृष्ट युवा खेलाडीको उपाधि एथलेटिक्सका अजितकुमार यादवले पाए । हङकङमा भएको तेस्रो एशियन युथ एथलेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडमा यादवले नेपाललाई कीर्तिमानी स्वर्णपदक दिलाएका थिए ।

युवा खेलाडीमा अजितसँगै ब्याडमिन्टनमा प्रिन्स दाहाल, फुटबलकी मञ्जलीकुमारी योञ्जन, क्रिकेटका ललितनारायण राजवंशी र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका थिए ।

वर्ष २०७५ को उत्कृष्ट प्रशिक्षकको अवार्ड प्याराग्लाइडिङका योगेश भट्टराईले जिते । विगत २० वर्षपछि नेपाललाई एशियाली खेलकूद प्रतियोगितामा रजत पदक दिलाउँदा उनले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

सम्बन्धित समाचार