सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले वार्ताको बाटो छोडेर आतंककारी गतिविधि गरिरहे विनाश हुने चेतावनी दिएको छ। पछिल्लो समय विप्लवको नेकपाका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीको प्रयोग बढिरहेका बेला सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री गोकुप्रसाद बाँस्कोटाले विप्लवको अन्त्य विनाशबाट हुने बताएका हुन्।
बिहीबार मन्त्रालयमा आयोजित मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विप्लवका गतिविधि र त्यसमा सरकारको धारणा के होरु भन्ने प्रश्नमा मन्त्री बाँस्कोटाले भने, ‘उहाँहरूले वार्तालाई रुचाउनुभएन। अनुचित, गैर संवैधानिक काम गर्दै हिँड्नुभयो। सरकारले त्यसलाई नियन्त्रण र निस्तेज गर्न जे गर्नुपर्थ्यो त्यो गरिरहेको छ।’
विप्लव नेतृत्वको नेकपाबारे आक्रामक भएका मन्त्री बाँस्कोटाले ‘हिंसात्मक र रक्तपिपासु मानसिकता पराजित भइसकेको’ बताए। तर, विप्लव समूह भने त्यही मानसिकता लिएर अगाडि बढेको बाँस्कोटाको भनाइ थियो। नेपालमा जनताले चाहेको राजनीतिक परिवर्तन भइसकेको बताउँदै मन्त्री बाँस्कोटाले विप्लवलाई प्रश्न गरे, ‘स्कुल बन्द गराएर कस्ता नागरिक उत्पादन गर्न खोजेको हो ?’ विप्लव नेतृत्वको नेकपाले सर्लाहीमा आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेडमा मृत्यु भएको विषयलाई लिएर नेपाल बन्द गरेको थियो। जसको प्रभाव विद्यालयहरूमा परेको थियो।