वडाध्यक्षले घुस मागेपछि विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन गरी काम गर्नुपूर्व नै सेवाग्राहीसँग रु दुई लाख ७५ हजार बराबरको घुस मागेको आयोगले आरोप लगाएको छ । आयोगको हेटौँडाबाट गएको टोलीले अध्यक्ष र सोही वडाका मुसहर बैठालाई घुस लिँदालिँदै पक्राउ गरेको जनाएको छ ।



आयोगका अनुसार अध्यक्ष बैठाले उपभोक्ता समितिको अध्यक्ष बनाइदिने र सो काम गर्न नसके जसरी भए पनि काम दिलाइदिने भन्दै घुस मागेको पाइएको छ । आरोपी बैठालाई बिगो असुल गरी कैद सजायको समेत माग गरिएको छ ।

यस्तै घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका खरीदार नीता शर्मालाई रु ७० हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ । कार्यालयले खरीद गरेको सामानको भुक्तानी प्रयोजनका लागि कमिशन मागेको आयोगले जनाएको छ । आयोगको बुटवलबाट गएको टोलीले बुटवल नगरपालिका–२ मनकामना मन्दिरबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुुमार कोइरालाले जानकारी दिए।

सम्बन्धित समाचार