लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा परी लमजुङको बेँसीशहर नगरपालिका ११ चिती तिनपिप्ले घर भएका २७ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको छ । उनी लिबियाबाट युरोपेली मुलुक इटाली हिडेका थिए । मानव तस्करको चंगुलमा परेर त्यहाँ पुगेका उनको आक्रमणमा परी मृत्यु भएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।
श्रेष्ठलाई लिबियाबाट इटाली पठाउने आशमा नेपालबाट उनको परिवारले सुसान अधिकारी भन्ने व्यक्तिको नाममा २ लाख रुपैयाँ पठाएका थिए । नविल बैंक बसुन्धारा शाखाबाट सो रकम पठाएको श्रेष्ठका बुवा सोमप्रसादले जानकारी दिए । श्रेष्ठको मृत्युको खबर सुनेसँगै उनको परिवार शोकमा डुबेको छ ।
श्रेष्ठ गत माघमा युरोप यात्रामा निस्केको उनका बुवाले बताए । लमजुङकै चिनारु एजेन्टलाई सुरुमा १० लाख रुपैयाँ बुझाएर काठमाडौंबाट दुबइ हुँदै लिबिया पुगेका थिए । इजिप्टस्थित नेपाली नियोगले सन्तोषको शव नेपाल पठाउन यात्रा अनुमति पत्र त्रिपोली पठाइएको जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा ३ वर्ष मलेसिया र १८ महिना कतार बसेका श्रेष्ठ ४ महिनाअघि लिबिया पुगेका थिए । लिबिया हुँदै उनी इटाली जाने प्रयासमा थिए ।
कायरोस्थित नेपाली नियोगका चार्ज डे अफेयर्स सुजन बिडारीका अनुसार लिबियाबाट उद्धार गरिएका अरु ८ जना नेपालीलाई पनि टर्की हुँदै घर फर्कने प्रबन्ध आइओएमले मिलाइसकेको छ । अरु ६ जना नेपाली अहिले पनि आइएमको त्रिपोली शिविरमा रहेका छन् । आप्रवासी हिरासत केन्द्रमै रहेका अन्य १४ नेपाली भने सकुशल छन् ।