नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आइतबारबाट सुरु हुने भएको छ। पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो २ बजे सुरु हुने बैठकमा पार्टीको संरचना कसरी निर्माण गरेर जाने भन्ने विषयमा छलफल केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीका संरचना निर्माणका विषयमा सहमतिको प्रयास भइरहे पनि ठोस उपलब्धि हासिल भइसकेको छैन। संरचना निर्माण गर्दा ६० र ४० को अवधारणा अनुसार अगाडि बढ्ने विषयमा केही समय पहिला छलफल भएको थियो तर पछिल्लो समयमा संस्थापन पक्ष पार्टीका संरचना निर्माण गर्ने पक्षमा र वरिष्ठ नेता पौडेलसहितका अन्य नेता अब १४ औँ महाधिवेशन केन्द्रित कार्यक्रम तयार गरेर जानुपर्ने पक्षमा देखिएपछि पार्टीको संरचना निर्माण कसरी गर्ने भन्ने विषयले केन्द्रीय समितिमा मुख्य स्थान पाउने भएको छ। बैठकमा कसरी प्रस्तुत हुने भनेर दुवै पक्षका नेताहरूले आफ्ना समूहका नेताहरूले तयारी गरिसकेका छन्।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, पार्टीको विधानको धारा ७२ को ४ ले पार्टी सङ्गठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको र नेपालको संविधान बमोजिमका नविन संरचनाहरू पार्टीको विधानले निर्दिष्ट गरेको प्रष्ट व्यवस्थाअनुरूप नै गठन हुनेछन्। विधानभन्दा बाहिर सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचारहरू विल्कुलै निराधार भएको भनाइ पनि प्रवक्ता शर्माको छ।
विधानमा पार्टीको नयाँ संरचनाहरू गठनका लागि तदर्थ समितिको कुनै प्रावधान रहेको छैन। बैठकमा पार्टीको संशोधित विधानको अनुसारको नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ। बैठकले नियमावली पारित गरेपश्चात् पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुनेछ।