विश्वकपको एशिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै राष्ट्रिय खेलकूद परिषद् (राखेप)का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले बिदाइ गरेका हुन् ।

नेपाली टोली आज दिउँसो १ बजे मलेसिया प्रस्थान गरेकाे छ । सिङ्गापुरमा आयोजना हुने उक्त आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोली सिङ्गापुर जानुअघि मलेशिया जान लागेका हुन् ।



मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्नेछ । नेपाल र मलेसियाबीचको सिरिज यही असार २८ र २९ गते हुनेछ । टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

सम्बन्धित समाचार