चाबहिल–साँखु सडकखण्डमा यात्रुलाई सास्ती

काठमाडौँ उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ । पानी पर्दा हिलो हुने, सडकमा जमेको पानी र पानी नपर्दा आउने धुलोले यस सडकखण्डमा आवतजावत गर्ने यात्रु र स्थानीयबासिन्दाले निकै सास्ती भोग्नु परिरहेको छ ।

सडकमा जमेको पानी र हिलोमाथि गुड्ने गाडीले सडकछेउका पसलमा पूरै हिलो र पानी छ्यापिदिन्छ । बौद्धका व्यापारी तथा बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले सडकको अवस्थाका कारण व्यापार घट्नुको साथै पसलका सामग्रीसमेत हिलोले काम नलाग्ने बनाएको भन्दै गुनासो गर्नुभयो ।



घाम लाग्दा धुलो र पानी पर्दा सडकमा जमेको पानी र हिलो यस सडकखण्डको विशेषता नै बनेको छ । जोरपाटीमा फेन्सी पसल चलाउँदै आएका लक्ष्मण दुलालले भने, ‘समयमा कालोपत्र नहुँदा पसल पूरै धुलाम्मे हुने गरेको छ । अहिले पानी पर्दा सडकको हिलो उछिट्टिएर पसलसम्म आइपुग्छ । हिलो र धुलोले पसलमात्र होइन, स्वास्थ्यसमेत जोगाउन मुस्किल परेको ।’

दिनहुँ सोही सडक प्रयोग गर्ने सर्वसाधारणको समस्याको भने अझ कष्टकर भएको छ । सडकको हिलो पानी र पैदलसम्म हिड्न नसक्ने गरी जमेको पानीले हैरानीमा पर्ने गरेको उनीहरू बताउँछन् । बौद्धकी बिनिता कोइरालाले भनिन्, ‘सडकमा खाल्डाखुल्डी र हिलाम्मे भएपछि सजिलै सडक वारपार गर्न सक्ने अवस्था छैन । सडकमा बिच्छ्याएको गिट्टी छरपष्ट छन् कतिपय गाडी त बीच सडकका खाल्डामै रोकिन्छन् भने दिनहुँ मोटरसाइकल चिप्लिएर पल्टिने गरेका छन् । यो सडकखण्डका यस्ता घटना दिनचर्या बन्ने गरेका छन् ।’

थलीका पावल बज्राचार्य सडकका कारण धेरै पटक आन्दोलनमा उत्रिएको कुरा सुनाउँदै सडककै कारण यस क्षेत्रका स्थानीयवासीले धेरै समस्या खेप्नुपरेको गुनासो पोख्छन् । विसं २०७२ मा दुई वर्षभित्र चाबहिल–साँखु सडकखण्ड विस्तारको काम सक्ने गरी सडक निर्माण शुरु गरिएको थियो । सडक निर्माणको अवधि सकिँदा पनि अझै आधा काम पनि सकिएको छैन ।

म्याद सकिए पनि पटक–पटक म्याद थप गर्दै ठेकेदार कम्पनीलाई सडक विस्तारको जिम्मा लगाएको भए पनि कामले गति लिनसकेको छैन । सरकारले चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ जेठमा सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर रहेको उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तार गरिरहेका छन् । सडक निर्माणमा बिलम्व भएको भन्दै थप एक कम्पनीसहित सडक निर्माणको काम शुरु गरेको भए पनि सडक विस्तारको कामले भने अझै गति लिनसकेको छैन ।

ठेक्का दिएको मितिदेखि आर्थिक वर्ष २०७४/७५ मा आयोजना सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुआब्जा प्रक्रिया, विद्युतीय र टेलिफोनको पोल र तार नपन्छाउनु, खानेपानी तथा ढल लिकेज भई सडक सतहमा पानी बग्नेजस्ता कारण देखाई समयमै निर्माण गर्न नसकिएको भन्दै पन्छिने गरेका छन् ।

पछि सर्वाेच्च अदालतले सडकमा जग्गा पर्नेलाई मुआब्जा दिनुपर्ने आदेश दिएपछि मुआब्जाको प्रक्रियामा जानुपर्दा सडक निर्माणमा अझै ढिलाइ हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठले बताए ।

मुआब्जा प्रक्रियाको लागि सरकारले सुरुमा बजेट छुट्याउनुपर्नेछ र जग्गाको सर्वे गर्दा, मुआब्जा दाबी गर्दा तथा वितरणसम्म लामो समय लाग्ने उनले बताए । विसं २०७५ साउन १० गते बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालका लागि कसरी सकिन्छ । सडक संरचनामा कालोपत्र गर्न निर्देशन दिएको थियो । तर, ठेकेदार कम्पनीले काम गरेको देखाउन केही स्थानमा कालोपत्र गरेको देखाउँदै पन्छिने गरेका थिए ।

सो सडकखण्ड प्रयोग गर्ने यात्रु तथा स्थानीय बासिन्दाले सडक निर्माणको माग गर्दै पटक–पटक आन्दोलनसमेत गरेका छन् । बौद्धमा स्थानीय व्यापारी र सर्वसाधारणले धुलो र हिलोले आजित भएपछि सडक नै बन्द गरेर आन्दोलन गरेपछि ठेकेदार कम्पनीले टुसालदेखि बौद्धगेट नजिकसम्म कालोपत्र गरेको थियो ।

सम्बन्धित समाचार