राज्य व्यवस्थामा सहमति : डिआइजी नै प्रदेश प्रहरी प्रमुख

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) नै प्रदेश प्रहरी प्रमुख हुने भएका छन् ।

संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रदेश प्रहरी प्रमुखमा नेपाल प्रहरीको एआइजीलाई पठाउने सहमति बनेको हो ।



नेकपा नेता तथा सांसद जनार्दन शर्माले केही दिन पहिले समितिमा राखेको प्रस्तावअनुसार गृहमन्त्रालय र कानुन मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले डिआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने सहमति गरेर समितिमा औपचारिकरूपमा प्रस्ताव पेस गरेपछि उक्त प्रस्ताव समितिले सर्वसम्मतिले स्वीकार गरेको हो ।

त्यसरी प्रदेश प्रमुख भएर जाने एआइजीले प्रदेश प्रहरीकै पोसाक र दर्ज्यानी चिह्न लगाउनेछन् । उनीहरू आइजिपी बन्ने सम्भावना कायमै रहनेछ । प्रदेश प्रहरी प्रमुखलाई संघीय सरकारले सरुवा गर्नसक्ने व्यवस्था गरिएको छ ।

प्रदेश प्रहरीको सेवासुविधा नेपाल प्रहरी (संघीय सरकार मातहत रहने प्रहरी)को भन्दा कम नहुने व्यवस्थामा पनि सहमति भएको छ । प्रदेश प्रहरीको सेवा, सुविधा, पोसाक, दर्ज्यानी चिह्न संघीय ऐनको मातहत रहेर बन्ने प्रदेश प्रहरी कानुनअनुसार हुने विषयमा समितिमा सहमति भएको छ ।

सम्बन्धित समाचार