झापामा बाढीको जोखिम, उद्धारकालागि तयार रहन सिडियोको निर्देशन

झापामा ३ दिन देखि लगातार परेको पानीका कारण नदीमा पानीको बहाव बढिरहेको अवस्थामा हुन सक्ने प्रावृतिक विपद् व्यवस्थापन सहज बनाउन जिल्ला समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना र मनसुन आपतकालीन कार्ययोजना बारे विहीबार स्थानीय तह तथा सरोकारवाला निकायहरुसँग छलफल गरेको छ ।

स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले आ-आफ्ना गाउपालिकामा बाढी तथा डुबानजन्य प्रकोपको विषयान तयारी रहेको छलफलमा जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष जनकराज दाहालले बाढी तथा डुवानको उच्च जोखिममा रहेका स्थानमा बसोवास गर्ने नागरिकको उद्धार र राहत सामग्रीको अवस्थाबारे स्थानीय तहका प्रमुख, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रका प्रमुखसँग जानकारी लिएका छन् ।



उनले गाउँपालिका र नगरपालिकाहरुलाई साउन र भदौ महिनाका लागि ढुङ्गा चलाउन जान्ने र परेका बेला उद्धारमा खटाउन सक्ने तालिम प्राप्त व्यक्तिहरुलाई तलब नै दिएर राख्न समेत आग्रह गरे । प्रजिअ दाहालले डुबान र बाढीको उच्च जोखिम रहेका स्थानका बासिन्दालाई स्थान्तरण गर्नुपरेमा आश्रय स्थल समेत तयारी अवस्थामा राख्न अनुरोध गरे ।

कार्यक्रममा कमल गाउँपालिकाकी अध्यक्ष मनुका काफ्लले नगरसभाबाट नै विपद् व्यवस्थापनमा आगामी आर्थिक बर्षका लागि १७ लाख बजेट नै विनियोजन गरेको बताइन् । तारजाली, लाइफ ज्याकेट, खाद्यान्न र त्रिपाललगायतका सामाग्री समेत तयारी अवस्थामा गाउँपालिकाले राखेको जानकारी दिइन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले विपद व्यवस्थापन गर्न सजिलो होस् भनेर वडा वडामा समिति बनाएर तयारी अवस्थामा जनशक्तिलाई राखिएको बताए । उनले बर्षातको समयमा नगरमा कनकाई, विरिङ, सुरुङ्गालगायत १० साना ठूला खोलाले दुःख दिने गरेको बताए ।

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले गाउँपालिकाका अधिकांश स्थान डुबान र बाढीको उच्च जोखिममा रहेकाले रबरको ढुंगा नै खरिद गरेर पूर्व तयारीमा रहेको जानकारी दिए । उनले जस्तो सुकै विपद आइपरे पनि गाउँपालिका तयारीमा अवस्थामा रहेको जानकारी दिए ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भूजल र हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले आफ्ना पालिकाहरुमा डुबानको समस्या नभए पनि नदी कटानको समस्या रहेको हुँदा तारजाली, ढुंगालगायतका सामाग्रीको व्यवस्था गरिसकेको बताए ।

झापामा सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेना समेत बाढी र डुबानमा परेका नागरिकलाई बचाउनका लागि तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले स्थानीय तहमा रहेका रेडक्रसकर्मी जुनसुकै बेलामा पनि विपद्मा परेकालाई उद्धार गर्न तयार रहेको बताए ।

झापामा विगत दुई दिनदेखि पानी निरन्तर परिररहेको छ । बाढी तथा डुबानको प्रकोपबाट आ–आफ्ना स्थानीय तहका नागरिकलाई उद्धार तथा राहत प्रदानको लागि सबै गाउँपालिका तथा नगरपालिका पूर्ण तयारी अवस्थामा रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए ।

सम्बन्धित समाचार