अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, बाढी पहिरोमा परी ९ जनाले ज्यान गुमाए

तीनदेखिको अविरल वर्षाले देशका विभिन्न ठाउँमा बाढी पहिरोका साथै सडक अवरुद्ध बनेका छन्। अझै केही दिन वर्षा हुने भन्दै मौसम विमागले सचेत रहनसमेत आग्रह गरेको छ। गृहमन्त्रालयका अनुसार अविरल वर्षा तथा बाढीका कारण देशका विभिन्न ठाउँमा ९ जनाको मृत्यु भएको छ।

खोटेहाङमा पहिराले घर बगाउँदा बेपत्ता रहेका तीन जनाको शव फेला
खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिराले घर बगाउँदा बेपत्ता रहेका तीन जनाको शव फेला परेको छ । घरमाथिबाट आएको पहिराले घर बगाउँदा आज बिहान बेपत्ता रहेका २९ वर्षीया रेखा राई र उनका छोरा चार वर्षीय रमन र सात महीनाका रोजनको शव फेला परेको हो ।



पहिराले मृतकका श्रीमान् ३१ वर्षीय विष्णु राई गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि खोटाङ बजार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

पहिराले गोठ बगाउँदा महिलाको मृत्यु
सिन्धुलीमा लगातारको अविरल वर्षाका कारण पहिराले गोठ बगाउँदा एक महिलाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–१ झुल्केमा पहिराले गोठसहित बगाउँदा महिलाको पुरिएर मृत्यु भएको हो ।

गोठमा गाईलाई खोले दिन गएकाबेला ३५ वर्षीया हेमकुमारी सुनुवारको पहिराले बगाउँदा मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिईन् । माथिबाट खसेको पहिराले गोठसहित बगाउँदा तीन गाई, दुई बाख्रासमेत मरेको उनले जानकारी दिईन् ।

वर्षाका कारण फिक्कलमा पर्ने मध्यपहाडी लोकमार्गका नवलपुर, बाजुरा, खाङसाङ खोला, सोखुखोला लगायतका स्थानमा राजमार्ग अवरुद्ध भएको उनको भनाइ छ । गएरातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । केही पहिरो पन्छाएर एकतर्फीका सवारीसाधन सञ्चालनमा ल्याए पनि पहिरो खसिरहेकाले अझै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

बाढीले बगाएर बालिकाको मृत्यु
मकवानपुरको थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने क्रममा एक बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ ।

सोही वडाको दम्की खोलाले बगाउँदा १४ वर्षीया छात्रा सन्तमाया घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी अविरल परेको वर्षाले हेटौँडा नारायणगढ सडकखण्डको ज्यामिरेमा आज अपराह्न पहिरो आई सो सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

उक्त पहिरो हटाउन इलाका प्रहरी कार्यालय मनहरीले डोजर त्यसतर्फ पठाइसकेको र करीब दुई घण्टाभित्रै यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । अहिले पनि अविरल परेको वर्षात्को बाढीले त्रिभुव राजपथको बागझोरामा यातायात सञ्चालन गर्न अझै पनि कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

ललितपुरमा पहिरोमा परेर बालकको मृत्यु
निरन्तरको वर्षाका कारण ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टामा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । पञ्चलाल जिम्माका घर पहिरोमा पुरिँदा घरभित्र रहेका दुई छोरामध्ये ११ वर्षीय सरोज जिम्माको मृत्यु भएको वाग्मती गाउँपालिकाले जनाएको छ ।

घर पुरिनासाथ स्थानीयवासीले तत्काल उद्धार गर्दा एक जना सकुशल भेटिएको र एक जनाको मृत्यु भइसकेको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनलाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत चापागाउँका प्रमुख रामकृष्ण सापकोटाले बताए ।

यातायात अवरुद्ध

निरन्तरको वर्षाका कारण जिल्लाका तीन गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ । कोञ्ज्योसोम, वाग्मती र महाँकाल गरेर तीन गाउँपालिकामा यातायात पूर्णरुपले अवरुद्ध बनेको वृत्तले जनाएको छ । गएरातिदेखि ठाउँठाउँमा सडक माथिबाट पहिरो जाँदा यातायातका कुनै पनि साधन चल्न नसकेको प्रमुख सापकोटाले बताए ।

पहिरो जाँदा तत्काल हटाउनका लागि स्काभेटर तयारी अवस्थामा राखेको भए पनि निरन्तर वर्षाका कारण अहिले काम हुन नसकेको उहाँको भनाइ छ । कान्ती लोकपथ, लेले–गोटीखेल, लेले सङ्खुलगायतका सडक अवरुद्ध छन् ।

घर, गोठ र गाईबस्तु बगायो
वर्षाका कारण यहाँका झण्डै चार वटा घर र गोठ बगाएको वृत्तले जनाएको छ । विभिन्न स्थानमा गाईबस्तु मरेको विवरण प्राप्त भएको छ । धेरै घरमा भित्रै पानी पसेर र पानीले लड्न सक्ने भन्दै स्थानीयवासी घरमा बस्न छाडेका बताइएको छ ।

पर्खाल भत्किँदा तीनको मृत्यु
काठमाडौंको मूलपानी बाबाचोकस्थित स्वास्थ्यचौकी भवन नजिकै पर्खाल भत्किँदा एकै परिवारका दुई जना र अर्को एक जनाको मृत्यु भएको छ । बारा देवताल गाउँपालिका–५ स्थायी घरभई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३५ वर्षीया शर्मीला यादवलाई उद्धार गरी अस्पताल पुर्याएपछि नेपाल मेडिकल कलेज अत्तरखेलले मृत घोषणा गरेको छ ।

उनका १० वर्षीय छोरा र सोही ठेगाना भएकी ३० वर्षीय नितु यादवको उद्धार गर्दै गर्दा मृत्यु भइसकेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा बस्दै आएका यादव परिवारलाई पुरेको हो ।

सम्बन्धित समाचार