नवजात शिशु अस्पतालबाटै हरायो

लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ । तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

सुत्केरी जमुनाको रेखदेख गर्न साथमा उनकी आमा अस्पतालमा आएकी थिइन् । अर्धचेत अवस्थामा रहेकी जमुनालाई आमाले झोलिलो खानेकुरा लिन क्यान्टिनमा नवजात शिशु काखमै बोकेर पुगेकी थिइन् । उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने बाहनामा सँगै गएको उनकी आमाको भनाइ छ ।



अपरिचित महिलाले शिशु आफूले अस्पतालको कक्षमा ल्याइदिने बाहना गरी ज्वानोको झोल जमुनाकी आमालाई लैजान पठाएको बताइएको छ । छोरीसँग पुगेको केही समयसम्म अपरिचित महिलाले शिशु लिएर नगएपछि खोजी कार्य भएको हो । सो घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार